
विराटनगर, ११ मंसिर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी १६ दिनको हिरासतपछि रिहा भएका छन् ।
विवादास्पद जापान भ्रमणका कारण पक्राउ परेका अधिकारी सोमबार साँझ रिहा भएका हुन् । अधिकारीलाई कात्तिक २५ गते विराटनगरस्थित डेराबाट प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।
सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनी रिहा भएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई पत्नी पृथ्वी बस्नेतको जिम्मा लगाएको हो ।
अधिकारी मन्त्री पदमा रहेकै बेला गत कात्तिक १३ गते प्रदेश र संघीय सरकारको अनुमतिबिना प्रक्रिया नपुर्याई इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को कार्यक्रममा सहभागी हुन जापान भ्रमणमा गएका थिए ।अधिकारी हङकङ पुगेपछि मिसिएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई अधिकारीको जानकारीका आधारमा जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।
उनीमाथि जापान जाने क्रममा मन्त्रालयको नक्कली कागजात र परिचयपत्र बनाएर तीन जना युवकलाई लगेको आरोप लागेको थियो ।








प्रतिक्रिया