१७ असार २०८३, बुधबार

चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ९ मंसिर । चिकित्सक अभावमा यहाँस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ । तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको हो ।

तलब, भत्तालगायत सुविधा नपाएकाले आफूहरूले सामूहिक राजीनामा गरेको अर्थोपेडिक डा. सरोज भगतले बताए । अस्पताल व्यवस्थापन समितिले ती विशेषज्ञ चिकित्सकलाई बेवास्ता गरेको स्थानीयको आरोप छ ।

अस्पतालमा दैनिक दुई सय बिरामी आउने गरेका छन् । विशेषज्ञ डाक्टर नहुँदा आफूहरू प्रभावित भएको जलेश्वर–२ का अनिलकुमार साहले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभातकुमार गामीले तीन जना डाक्टरको राजीनामापछि सेवा प्रभावित भएको स्वीकार गर्दै समस्या सामाधानतर्फ आफू लागेको बताए ।

उनले अस्पताल व्यस्थापन समिति, मधेस सरकार र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताए । साथै उनले राजीनामा गरेका डाक्टरलाई हाललाई असारसम्मको तलबभत्ता लिएर काममा फर्कन तथा बाँकी रकम पनि यथाशक्य चाँडो व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए ।