३ श्रावण २०८३, आइतबार

जुम्लाका स्याउ किसानसँग मुख्यमन्त्री कँडेलको अन्तरसंवाद

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, ८ मंसिर । स्याउ खेतीको लागि नेपालमा सबैभन्दा धेरै सम्भावना भएको जुम्ला जिल्लामा किसानहरुले भोग्नु परेका समस्या र समाधानमा प्रदेश सरकारको तर्फबाट खेल्नुपर्ने भूमिकाबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थलगत भ्रमणसँगै अन्तरसंवाद गरेका छन् ।

कर्णाली यात्राअन्तर्गत माथिल्लो कर्णाली पुगेका मुख्यमन्त्री कँडेलले आज जुम्लामा व्यवसायिक खेती गरिरहेका ७० भन्दा बढी स्याउ किसानहरुसँग उनीहरुले समस्या र समाधानका उपायहरुबारे अन्तरसंवाद गरेका हुन् ।

खंलगामा आयोजित स्याउ किसानसँग मुख्यमन्त्री कँडेलले जुम्लाको स्याउले राष्ट्रिय स्तरमै बजार लिँदै गएकोमा खुशी व्यक्त गर्दे स्याउको उत्पादन र बजार प्रर्वद्धनमा प्रदेश सरकारको भूमिका बढाउन स्थानीय स्तरमै पुगेर अन्तरसंवाद गर्ने उदेश्यले जुम्लामा कार्यक्रम राखिएको बताए । स्याउ उत्पादन कारण यहाँका कृषकहरुले राम्रो आम्दानी स्रोत बनाइरहेको चर्चा परिचर्चा देशव्यापी समाचार बनिरहँदा यहाँको वास्तविक अवस्थाबारे कृषकहरुबाटै आफूले बुझ्न चाहेको मुख्यमन्त्री कँडेलको भनाई थियो ।

मुख्यमन्त्री कँडेलले भने, ‘स्याउ खेती गर्न सहयोग गर्ने सरकारी तथा गैरसरकारी विभिन्न संस्था होलान्, प्रदेश सरकारले पनि यसमा केही न केही गरिरहेको छ, तपाईंहरु आफै पनि गरिरहनुभएको छ, तर यसलाई अझ व्यवस्थित र कसरी राम्रो गर्न सकिन्छ भन्ने उदेश्यले तपाईंहरुका कुरा सुनौँ भनेर यस्तो कार्यक्रम राखिएको हो ।’

‘स्याउ किसान समस्याहरु आ आफ्ना छन्, एकै पटक सबै समस्याहरु समाधान हुन पनि नसक्लान्,’ मुख्यमन्त्री कँडेलले भने, ‘यहाँ तपाईंहरुका कुरा सुनिसकेपछि सरकारलाई नीति, कार्यक्रम र बजेट ल्याउन सहज हुन्छ ।’ मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले स्याउमा अहिले गरिरहेको काम बाहेक थप राम्रो गर्न सकिने साझा प्रस्ताव आए प्रदेश सरकार त्यसतर्फ अगाडि बढ्ने बताए ।

पातारासीका किसान लक्ष्मण बोहोराले महामारीको रुपमा स्याउमा किराहरु लागेकोले जुम्लाको स्याउ बेच्न नसकिने अवस्था आउन सक्ने बताए । जुम्लामा रसायानिक मल निषेध गरिएको र विषादी प्रयोग गर्न निषेध गरेकोले समस्या उत्पन्न सक्ने उनको भनाई थियो ।

बोहोराले गुणस्तरीय नर्सरीको अभावमा बिरुवाको गुणस्तरिय नहुँदा स्याउको गुणस्तरमा समस्या देखिएको बताए । उनले स्याउ खेतीमा प्राविधिकको अभाव रहेकोले प्राविधिक सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

अर्का स्याउ किसान गोविन्द शाहीले सरकारले एक अर्बको ग्रेडिङ मेसिन स्थापना गरेपनि बत्तीको अभावमा त्यसको सञ्चालन नहुँदा किसानले समस्या भोगिरहेको बताए ।

खलंगामा किसानसहित सरोकारवाला कार्यालयका प्रमुखहरु राखेर छलफल गर्नुअघि आज बिहान मुख्यमन्त्री कँडेलले जुम्लामा सबैभन्दा ठूलो स्याउ बगैयाँ रहेको सानो गुठीचौर पुगेर त्यहाँ हिमाली टि एण्ड एग्रो फार्म हाउसको निरीक्षण गरेका थिए ।

प्रदेश सरकारअन्तर्गतको कृषि विकास कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाह, प्रदेश सभा सदस्यहरु टेकराज पछाई, देवेन्द्र शाहीलगायतको उपस्थिति रहेको थियो ।