
काठमाडौं, ८ मंसिर । केरलाको वायनाड लोकसभा सिटमा भएको उपनिर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसकी प्रियंका गान्धी वाड्रा ठूलो जित दर्ता गर्नेतर्फ छिन् ।
प्रियंकाले आफ्ना निकटतम प्रतिद्वन्द्वी भारतीय कम्युनिस्ट पार्टीका सत्येन मोकेरीलाई ४ लाखभन्दा बढी मतले पछि पारेकी हुन् । यो सिटमा भाजपाकी नव्या हरिदास तेस्रो स्थानमा रहेकी छन् ।
यस वर्षको लोकसभा चुनावमा कांग्रेस नेता राहुल गान्धीले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाडबाट चुनाव लडे र दुवै सिट जितेका थिए । तर, पछि उनले लोकसभामा रायबरेली सिटबाट प्रतिनिधित्व गर्ने निर्णय गरे । राहुलको यो निर्णयसँगै वायनाड सिट खाली भयो, जसको लागि १३ नोभेम्बरमा उपनिर्वाचन भएको थियो ।
प्रियंकाले पहिलो पटक संसदीय चुनाव लडेकी हुन् । वायनाड सिटलाई कांग्रेसको गढ मानिन्छ ।
यसैबीच, प्रियंकाले सामाजिक सञ्जालमा धन्यवाद व्यक्त गरेकी छन् । वायनाडमा ठूलो जिततर्फ अघि बढिरहेकी प्रियंकाले सामाजिक सञ्जालमार्फत वायनाडका जनता, पार्टी कार्यकर्ता र परिवारलाई धन्यवाद दिएकी छन् ।
उनले एक्समा लेख्दै भनेकी छन्, ‘वायनाडका मेरा प्यारा बहिनीहरू र दाजुभाइहरू । तपाईंले ममाथि देखाउनुभएको विश्वासको लागि म तपाईंहरू सबैप्रति धेरै आभारी छु । म यो सुनिश्चित गर्नेछु कि तपाईंलाई यो विजय तपाईंको जित हो र तपाईंले प्रतिनिधित्व गर्न रोज्नु भएको व्यक्तिले तपाईंको आशा र सपना बुझ्दछ र तपाईंको लागि लड्छ । म संसदमा तपाईंको आवाज बन्न तत्पर छु ।
प्रियंका थपले लेखेकी छिन्, ‘मलाई यो सम्मान दिनु भएकोमा र तपाईंले मलाई अपार माया दिनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद ।’
उनले पार्टी कार्यकर्ताहरूलाई पनि धन्यवाद दिँदै भनिन्, ‘युडीएफमा मेरा सहकर्मीहरू, केरलाका नेताहरू, कार्यकर्ताहरू, स्वयंसेवकहरू र मेरो कार्यालयका सहकर्मीहरू, जसले यस अभियानमा अविश्वसनीय रूपमा मेहनत गरे । दैनिक १२ घण्टा लगातार काम गरे (खाना बिना, आराम बिना) र मलाई विश्वास गर्ने सबैलाई धेरै धेरै धन्यवाद ।’
प्रियंका गान्धीले पनि आफ्नो परिवारप्रति आभार व्यक्त गरेकी छिन् । उनले भनेकी छन्, ‘मेरी आमा, रोबर्ट र मेरा दुई छोराछोरी रेहान र मिराया । तपाईंले मलाई दिनुभएको माया र साहसका लागि म तपाईंहरू सबैप्रति आभारी छु ।’
उनले लेखेकी छन्, ‘मेरो भाइ राहुल, तिमी धेरै साहसी छौँ । मलाई बाटो देखाउनु भएकोमा र सधै साथ दिनुभएकोमा धन्यवाद !’
४ लाखभन्दा बढी मतले अघि छिन् प्रियंका
भारतीय निर्वाचन आयोगले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार प्रियंकाले ६ लाख २२ हजार ३३८ मत ल्याएकी छन् भने दोस्रोमा रहेका भारतीय कम्युनिस्ट पार्टीका सत्यन मोकेरीले २ लाख ११ हजार ४०७ मत प्राप्त गरेका छन् । भाजपा उम्मेदवार नव्या हरिदासले हालसम्म १ लाख ९ हजार ९३९ मत प्राप्त गरेकी छन् ।
हालै सम्पन्न लोकसभा चुनावमा कांग्रेसका राहुल गान्धीले ६ लाख ४७ हजार ४४५ मत प्राप्त गर्दै विजयी भएका थिए ।
सन् २०१९ मा कंग्रेस नेता राहुल वायनाडबाटै संसद पुगेका थिए । २०२४ मा राहुलले वायनाड र रायबरेली दुवै जितेका थिए । यसपछि उनले वायनाडबाट राजीनामा दिएका थिए ।








प्रतिक्रिया