२२ जेष्ठ २०८३, शुक्रबार

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी, ८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सिद्वार्थ उद्योग वाणिज्य संघ रूपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायिहरूले आशंका गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धतासमेत जनाए ।

उनले नेपालकै मध्यभागमा रहेको र बुद्ध जन्मस्थल लुम्बिनीसमेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने पनि बताए । उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा २ पटक आउनेसमेत प्रतिबद्वता जनाए ।

उनले भने, ‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु, संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔँ भन्नेमा लागेको छ । मेचीमहाकालीको बिचमा रहेको स्थल, लुम्बिनी र पोखरा समेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौँ ।’

उनले विमानस्थलसँग सम्बन्धित श्रम, भिस्सा, मेडिकल, म्यानपावर कम्पनीलगायतका अत्यावश्यक कार्यालयहरु स्थापनाका लागि साउनमै निर्णय भएको बताए । मन्त्री पाण्डेले अब काठमाडौं फर्केर प्रधानमन्त्री स्तरीय बैठक बसेर कार्यान्वयन गरिने उद्घोष पनि गरे । उनले विमानस्थलसँग सम्बन्धित तत्काल गर्नुपर्ने काम र प्राविधिक तथा दिगो रुपमा गर्नुपर्ने कामहरुलाई सूचीबद्ध गरेर गर्नेसमेत बताए ।

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले दु्रतगतीमा काम गर्नुपर्ने सुझाव स्विकार गर्दै आगामी दिनमा त्यसका कमी कमजोरी सुधार गरेर जाने उद्घोष गरे । उनले होटल, गुम्बा र स्थानीयहरूका बीचमा देखिएको विवादले काम गर्ने वातावरण नबनेको बताउँदै त्यहाँको द्वन्द्वको मध्यस्थताका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरे ।