
काठमाडौं, ८ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पार्टीको जागरण अभियान कार्यक्रमलाई लगाएको जरिवानाको कडा आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महासचिव पोखरेलले मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने कुरा सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिने बताएका हुन् ।
महासचिव पोखरेका अनुसार कार्यक्रम समापन हुँदा स्वयंसेवकहरूले सरसफाइ गरिरहेको र फोहर उठाउन महानगरपालिकासँग गाडीको माग गरिएको थियो ।
‘कार्यक्रम समापन भएपछि आयोजककै तर्फबाट फोहोर संकलन गरिँदै थियो । महानगरलाई फोहोर उठाउनका लागि सहयोग गर्न अनुरोध गरिएको थियो । तर, अनुरोध अस्वीकार गर्दै जरिवानाको प्रचार गरियो । कार्यक्रमस्थल सफा भइरहेको अवस्थामा पनि जरिवानाको पर्चा पठाइनुले मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर प्रचारबाजीमा रहेको देखिन्छ ।’ महासचिव पोखरेलले भनेका छन् ।
महासचिव पोखरेलले मेयर बालेनको कार्यलाई ‘स्टन्टबाजी’को संज्ञा दिँदै एमालेले आफ्ना कार्यक्रमपछि सधै सरसफाइ गर्ने गरेको जानकारी गराएका छन् । उनले जागरण सभा यस्ता स्टन्टबाजी गर्नेहरूलाई सचेत बनाउन पनि आयोजना गरिएको उल्लेख गरेका छन् ।
‘मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्टबाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो । नेकपा (एमाले) पार्टी आफ्नो कार्यक्रम पछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई । जागरण सभा यस प्रकारका स्टन्टबाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो ।’ महासचिव पोखरेलले भनेका छन् ।








प्रतिक्रिया