
काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालले जागरण सभा आयोजना गरेको बताएका छन् ।
नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले देशका दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर राष्ट्रलाई राजनीतिक निकास दिन लागेको बेला यी खालका षडयन्त्र भएको बताएका हुन् । षडयन्त्रलाई चिर्न आज जागरण सभा आयोजना गरिएको पोखरेलले स्पष्ट पारे ।
एमाले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएकै कारण एमाले माथि आक्रमण भएको उनले दाबी गरे । ‘हाम्रो पार्टीका विरुद्ध चौतर्फी घेराबन्दी र र आक्रमण हुँदै आएको छ, अहिले हाम्रो पार्टी एमालेलाई समाप्त पार्न अनेक खालका षडयन्त्र भइरहेका छन्’, उनले भने ।
एमालेलाई पटक–पटक विभाजनको प्रयास गरिएका भए पनि कार्यकर्ता पङ्ती चट्टान जसरी उभिएर पार्टीलाई जोगाई अहिलेको अवस्थामा ल्याएको उनको भनाइ छ । एमाले विरुद्ध फैलाइएका सबै भ्रमलाई कार्यकर्ताहरूले चिर्दै आएका पोखरेलले स्पष्ट पारे । एमालेले रेलका कुरा गर्दा कागजको रेल बनाएर उडाउने काम गरिएको बताउँदै उनले चीनले र भारतले नेपालमा रेललाई विस्तारको लागि चासो दिएका उनले स्मरण गराए । ‘हामीले देखेका सपनाहरू नेपालको विकास र समृद्धिका सपना हुन् भन्ने कुरा हामीले प्रमाणित गर्यौं,’ पोखरेलले भने ।
काम एउटाले गर्छ, जस अर्कालाई दिने नेपाली परम्परा बनेको उनले टिप्पणी गरे । एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा विश्वमा उच्च आर्थिक प्रगति गर्ने मुलुकको सूचीमा नेपाल परेको भए पनि उनको खुट्टा तान्ने काम भइरहेको उनले बताए । ‘देश बनाउने पार्टी एमाले हो, काम गर्नेलाई काम गर्न देऊ भन्न सक्नु पर्दछ, तब मात्र देश बन्दछ’, पोखरेलले भने ।
नेपालमा सबै प्रकारका सङ्कटको समाधान एमालेबाट मात्र सम्भव भएको पोखरेलले बताए। ‘केपी ओली नेतृत्वमा बनेको अहिलेको सरकार नेपालको अहिलेको सङ्कट समाधानको लागि बनेको सरकार हो’, उनले भने । राजनीतिक अस्थिरताको कारण नेपालको विकास हुन नसकेको उनले बताए । देशको विकास र समृद्धिका लागि राजनीतिक स्थिरता, स्पष्ट दृष्टिकोण, बलिया राजनीतिक दल आवश्यक पर्ने उनले प्रष्ट पारे ।
नेकपा एमालेसँग जोडेर विभिन्न प्रचार गरिएको बताउँदै त्यसमा एमालेको कुनै संलग्नता नरहेको उनको भनाइ छ । एमाले माथि जोडिएका सबै विषयका छानबिन गर्न पनि उनले चुनौती दिए ।
अराजकताका विरुद्ध केपी ओली दह्रोसँग उभिएका कारण उनलाई बदनाम गराउने खेतीपाती गरिएको पोखरेलले टिप्पणी गरे । उनीहरूको यो खेती नटिक्ने पनि पोखरेलले स्पष्ट पारे । ‘नेकपा एमालेजनको हृदयमा छ, राष्ट्रको हृदयमा छ’,पोखरेलले भने । नेपाली समाजमा केही व्यक्तिहरू जे कुरालाई पनि षडयन्त्रको जालो रच्ने खेलमा लागेका उनले बताए । कम्बोडियामा भइरहेको कार्यक्रममा एमालेका नेताहरू भाग लिन जाँदा समेत अनेक खालका कुप्रचार गर्ने काम गरिएको भन्दै पोखरेलले आपत्ति पनि जनाए ।
सहकारी छानबिनमा व्यक्ति केन्द्रित नभएर घटना केन्द्रित भएर छानबिन गरौँ भन्ने दल नेकपा एमाले भएको स्मरण गराउँदै उनले व्यक्ति केन्द्रित भएर अनुसन्धान गरौँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले आफैँ अनुसन्धानको दायरामा रहेको बताए । त्यसको दोष समेत अहिले एमाले माथि लगाउने काम भइरहेको पोखरेलले बताए ।









प्रतिक्रिया