
काठमाडौं, ६ मंसिर । नेकपा (एमाले) काठमाडौंका अध्यक्ष दीपक निरौलाले भोलि काठमाडौंमा हुने एमालेको जागरण सभामा एक लाख नागरिक उत्रिने बताएका छन् ।
एमाले काठमाडौं, भक्तपुर र ललितपुरले शुक्रबार काठमाडौंमा आयोजना गर्ने जागरण सभाको अन्य तयारी पूरा भएको र आज रातभरमा मञ्च तयार गरिने निरौलाले बताए ।
‘समाजमा फैलिएको नकारात्मक दृष्टिकोणलाई सकारात्मक दिशातर्फ लैजाने, राष्ट्रिय सद्भाव कायम गर्ने र समाजलाई सही दिशातर्फ लैजानको लागि हामीले यो कार्यक्रम आयोजना गरिएको हो’, निरौलाले भने ।
कार्यक्रमको लागि अन्य सबै तयारी पूरा भएका बताउँदै निरौलाले भोलि बिहान ११ बजे भद्रकालीबाट र्याली सुरु भएर दरबारमार्ग पुग्ने जानकारी दिए ।
‘सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतले सम्बोधन गर्नुहुने छ, हामीले एक लाख मान्छेको उपस्थितिमा कार्यक्रम सम्पन्न गर्ने लक्ष राखेका छौँ’, उनले भने ।
नेपाली समाजमा फैलाइएको सामाजिक अराजकतालाई चिर्न कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारे । ‘समाजमा विद्वेष फैलाउने प्रयत्न भएको छ, गलत प्रवृत्ति विकास गर्ने प्रयत्न भइरहेका छन्, त्यसका विरुद्धको यो अभियान हो’, निरौलाले भने ।
राजनीतिक पार्टीहरू सरकारमा हुँदा होस् वा नहुँदा सधैँ जनताको बीचमा हुने भएकाले सरकारमा रहेको बेला किन कार्यक्रम गर्न लागेको भन्ने प्रश्न नै नउठ्ने निरौलाले बताए । ‘जनताको बीचमा जाने भनेको सडकमा नै जाने हो, जनतालाई पार्टीका विचार र धारणा सम्प्रेषण गर्ने सडकबाट नै हो, त्यसैले हामीले भोलि सडक कार्यक्रम राखेका हौँ’, उनले भने ।
निरौलाले एमालेमाथि फैलाइएको भ्रम, सरकार र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लगाइएका निराधार आरोप र लाञ्छना भोलिको कार्यक्रमले चिर्ने बताए ।
एमाले र एमाले नेतृत्वको सरकारले गरेका काम र आगामी योजनाको बारेमा पनि भोलिको सभामा प्रष्ट पारिने निरौलाले जानकारी दिए । त्यसैले कार्यक्रममा सहभागी भई एमालेको धारणा सुन्न र भ्रमबाट मुक्त हुन उनले उपत्यकावासीलाई आह्वान गरे ।









प्रतिक्रिया