
काठमाडौं, ६ मंसिर । नेकपा (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।
पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले महाधिवेशनमा वैचारिकरुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचनालगायतका विषयमा छलफल हुने जानकारी दिए । उनले दलाल संसदीय पुँजीवादी व्यवस्थाकै कारण जनतामाथि वित्तिय शोषण, जनताको सम्पत्तिको दोहन, मिटर ब्याजविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बैठकले निर्णय गरेको समेत बास्तोलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अर्को प्रसंगमा बास्तोलाले अहिलेको व्यवस्था संकटमा परेको बताउँदै समाधानको लागि स्वाधिन संयुक्त सरकार विकल्प भएको बताए । उनले अहिले देश पराधिन अवस्थामा पुगेकोसमेत बताए ।
‘देश अहिले पराधिन अवस्थामा गुज्रिरहेको छ, अहिलेको व्यवस्था असफल भइसकेको छ, संविधानले पनि जनताको अधिकारको रक्षा गर्न नसक्ने ठाउँमा पुगेकोले यसलाई भंग गरेर देशलाई स्वाधिन बनाउन सबै राजनीतिक दलको सहभागितामा स्वाधिन संयुक्त सरकार गठन गरिनुपर्छ । संयुक्त सरकार जनताको अधिकारको रक्षा गर्दै समाजवादी बाटोमा अगाडि बढ्नुपर्छ भन्ने हाम्रो पार्टीको धारणा रहेको छ’ बास्तोलाले भने ।
यही मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सन् २०१५ मे मा चीन र भारतबीच भएको समझदारीको २८औं बुँदाबारे कुरा उठाउन बास्तोलाले सुझाव पनि दिए । त्यस बुँदामा चीन र भारतले नेपालीभूमि लिपुलेकलाई आफ्नो भूमिझैं गरी भएकोले उक्त समझदारीलाई खारेजीको लागि पहल गर्न प्रधानमन्त्रीको बास्तोलाले ध्यानाकर्षणसमेत गराए ।
त्यस्तै, कालापानी, लिम्पियाधुरा–लिपुलेकलगायत नेपाली भूमि तत्काल छोड्नसमेत नेकपा बहुमतले पार्टीले माग गरेको छ । उसले सन् १९५० लगायत सबै असमान सन्धि तथा सम्झौता खाजेर गर्नसमेत माग गरेको छ । सरकारी कार्यालयमा राखिएको निजी बैंकका एटिएमलगायत वित्तिय कारोबार बन्द गरी सरकारी बैंकको सेवा सञ्चालन गर्नसमेत बहुमतले माग राखेको छ ।
त्यसैगरी, अमेरिकी राष्ट्रपति जोइ बाइडनले रुसी भूमिमाथि लामो दुरीका हतियार प्रहार गर्न अनुमति दिएर रुस–युक्रेन युद्धलाई थप भड्काउन लागेको भन्दै बास्तोलाले युद्ध रोक्नुपर्ने बताए । उनले इजरायलले मध्य पूर्वमा नरसंहार मच्चाएको भन्दै तत्काल बन्द गर्नुपर्नेसमेत बताए ।








प्रतिक्रिया