३१ जेष्ठ २०८३, आइतबार

महिला सशक्तिकरणका लागि काठमाडौंमा ‘वुमेन अफ द वर्ल्ड’ हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । महिला र बालिकाहरुको सशक्तिकरण तथा लैङ्गिक समानताको विषयमा छलफल गर्न यही मंसिर ८ र ९ गते काठमाडौंको नक्साल स्थित नन्दीकेशर बगैँचामा ‘वुमेन अफ द वर्ल्ड’ (वाउ)को सातौं संस्करण आयोजना हुने भएको छ ।

ब्रिटिस काउन्सिलले काठमाडौं महानगरपालिका र द वाउ फाउन्डेसन बेलायतसँगको सहकार्यमा सम्मलेन आयोजना गर्न लागेको हो ।

यस सम्मलेनमा १० हजारभन्दा बढी सहभागीको उपस्थिति रहने अपेक्षा गरिएको छ । निःशुल्क प्रवेश रहने यस कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको विशेष उपस्थिति रहनेछ ।

दुई दिने वाउ महोत्सवमा योग बक्सिङदेखि चलचित्र प्रदर्शनी, कार्यशाला, अन्तरक्रियात्मक छलफल, परामर्श सत्र, प्रदर्शनी, स्थानीय उत्पादन बिक्री, सांगीतिक प्रस्तुतिलगायतका विविध कार्यक्रमहरु समावेश छन् । कुन्ती मोक्तान, सुवानी मोक्तान, रचना दाहाल, गौमाया गुरुङसहित २०० भन्दा बढी महिला कलाकारहरुले प्रस्तुति दिनेछन् । महोत्सवमा जलवायु परिवर्तन, खेलकुद, आमसञ्चारलगायत विभिन्न क्षेत्रमा महिलाको भूमिका र पहिचानका विषयमा छलफल हुनेछ ।

यसैगरी, महिला नेतृत्वका उपलब्धि र अनुभवका विषयमा उत्प्रेरणात्मक सत्रहरु पनि सञ्चालन हुनेछन् । महोत्सव पश्चात लैङ्गिक संवेदनशीलताका विषयमा सचेतना र जागरुकता बढाउन २०० जनालाई सीप प्रदान गर्ने कार्यक्रम पनि रहेको छ । बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने यस महोत्सवले लैङ्गिक उत्तरदायी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ ।

‘लैङ्गिक र समावेशी कार्यक्रम’ सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले ब्रिटिस काउन्सिलसँग गत वैशाख १० गते समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।