
काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता मौलायो भने लोकतन्त्र कमजोर हुने बताएका छन् ।
नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपालले मंसिर ७ मा काठमाडौंमा हुने जागरण सभाको सन्दर्भसहित समसामयिक राजनीतिक अवस्था बारे बुधबार सम्पादकहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले अराजकता मौलाउँदा अलोकतान्त्रिक शक्ति सलबलाउने बताएका हुन् । ‘अराजकता र लोकतन्त्र सँगै जान सक्दैनन्, अराजकता मौलायो भने भ्याक्युम भित्र अलोकतान्त्रिक तत्त्वले खेल्छन्’, उनले भने ।
अहिले देश बन्दैन भनेर सामाजिक अराजकता फैलाई जनतामा निराशा छर्ने प्रयास भइरहेको ज्ञवालीले बताए । अराजकता र अस्थिरता चाहनेहरू एक ठाउँमा आउन खोजिरहेका उहाँले दाबी गर्नुभयो । दुर्गा प्रसाईँको फेक डकुमेन्ट यसको पछिल्लो उदाहरण भएको उनको भनाइ छ ।
२००६ सालदेखि परिवर्तनका मुख्य संवाहक नेपाली कांग्रेस र एमाले नै भएका बताउँदै उनले अहिले पनि अराजकता र अस्थिरता अन्त्यको लागि दुई दल एक ठाउँमा उभिएका स्पष्ट पारे । कांग्रेस–एमाले नमिल्दा माओवादी अध्यक्ष प्रचण्डले अस्थिरतामा खेलिरहेका कारण दुई दल एक ठाउँमा उभिन बाध्य भएको उहाँले स्पष्ट पार्नुभयो । ‘दुई दल प्रतिस्पर्धामा रमाइरहने प्रचण्डले जादु नम्बर खेलाइरहने देखिएपछि हामी मिलेका हौँ’, उनले भने ।
सरकारबाट हट्ने बित्तिकै प्रचण्डले अनेक खालका तिकडम अपनाउन थाल्नु भएको उनले बताए । नेपाललाई बङ्गलादेश, श्रीलङ्का बनाइदिन्छु भन्नु पहिचानवादीसँग मिलेर कोशी प्रदेश नाम मान्दिनौ भन्दै सँगै आन्दोलनमा जान खोज्नु, भारतीय मिडियासँग अन्तर्वार्ताको क्रममा केपी ओलीले चाइना कार्ड प्रयोग गर्न लागे भनि अभिव्यक्त दिनु प्रचण्डका सरकारबाट हेटपछिका छटपटी भएको ज्ञवालीले स्पष्ट पारे । ज्ञवालीले केपी ओली नेतृत्वको सरकार बनेपछि अर्थतन्त्र सुधारको सङ्केत देखिएको बताए । सरकारले सुशासनको पक्षमा कदम चालिरहेको पनि उनले दाबी गरे ।
उनले विधिको शासनमा गल्ती गर्ने सबै कारबाहीका भागीदार हुने धारणा राखेका छन् । एमालेले आफ्नै पार्टीको कोशी प्रदेशका मन्त्रीलाई तत्काल पदमुक्त गरेको उदाहरण उनले दिए । ‘यो विधिको शासन हो, कुनै पार्टीको सभापति पूर्वगृह मन्त्री भएकाले छुट्ने कुरा हुँदैन, जुन पार्टीको भए पनि कारबाही भोग्नपर्छ’, उनले भने ।
एमालेको राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेसँग कुनै प्रतिस्पर्धा नै नभएको ज्ञवालीले दाबी गरे । यसैले एमालेले रास्वपा र रवि लामिछानेलाई फसाउनु पर्ने कुनै कारण नभएको उनले स्पष्ट पारे। ‘रास्वपासँग हाम्रो प्रतिस्पर्धा होइन किन फसाउनु’, उनले भने ।
ज्ञवालीले सरकारमा हुने दलहरूले देश बन्दै छ, हामी बनाउँछौँ भन्ने सन्देश जनतालाई दिन सक्नुपर्ने धारणा राखे । त्यसका लागि मंसिर ७ को जागरण सभा आयोजना गरिएको ज्ञवालीले बताए ।








प्रतिक्रिया