१८ असार २०८३, बिहिबार

देश निर्माणका लागि एमालेलाई निर्णायक शक्ति बनाउन आवश्यक : शंकर पोखरेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ३ मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश निर्माणको लागि नेकपा एमालेलाई निर्णायक शक्ति बनाउन आवश्यक रहेको बताएका छन् ।

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २ दाङले सोमबार घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा एमाले देशको सबैभन्दा ठुलो राजनीतिक शक्ति भए पनि राज्य सत्ता सञ्चालनको लागि निर्णायक शक्ति बन्न नसकेको बताएका हुन् । त्यसैले मिसन–८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।

पोखरेलले देशका राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढाउन चाहने तत्त्वहरू क्रियाशील रहेका बताए । देशमा राजनीतिक अस्थिरता कायम गरेर त्यसमा खेल्न चाहने विभिन्न शक्ति क्रियाशील रहेकाले राजनीतिक स्थायित्व र स्थिरता दिन आवश्यक रहेको धारणा राखे । त्यसैका लागि २०८४ को निर्वाचनमा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उनको भनाइ छ ।

देशमा देखिएको राजनीतिक र सामाजिक अस्थिरता तथा अराजकतालाई रोक्न आर्थिक क्षेत्रको सुधार गरी समृद्धिको यात्रा अघि बढाउन देशका ठुला दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले अहिले एक ठाउँमा उभिएका उनको भनाइ छ । केपी ओली नेतृत्वको वर्तमान सरकार विकास र समृद्धिको मार्गतर्फ अगाडि बढिरहेको सन्दर्भमा सरकारबाट भएका रचनात्मक क्रियाकलापका विषय जनतामाझ पुर्‍याउनु पर्ने उनले बताए ।

पोखरेलले नेताको टाउको जोडेर होइन जनताको मन जोडेर पार्टी बलियो बनाउनु पर्ने बताए । ‘हामी पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन चाहन्छौँ, नेता कार्यकर्ताले जनताका समस्यासँग जुधेर, उनीहरूका मुद्दामा ध्यान दिएर जनतालाई विश्वास गरेर अगाडि बढ्नु जरुरी छ’, उनले भने ।

राजनीतिक दल जनताका समस्यासँग एकाकार हुनुपर्ने बताउँदै पोखरेलले जनताका हरेक समस्यासँग जोडिन र समाधानको लागि सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । जनतासँग नभिजेको पार्टी कम्युनिष्ट पार्टी नहुने पनि उनले प्रष्ट पारे ।