२४ असार २०८३, बुधबार

उपनिर्वाचन : यस्तो छ गौरीशंकरमा एमालेले जित्ने आधार

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, ३ मंसिर । राजनीतिक दलहरु मंसिर १६ गते हुने उपनिर्वाचनमा होमिसकेका छन् । दोलखाका राजनीतिक दलहरु पनि मनोनयन दर्ता अघि देखिनै आफ्ना उम्मेदवारहरु घोषणा गर्दै चुनावी तयारी तथा प्रचार अभियानमा व्यस्त छन् ।

गौरीशंकर गाउँपालिकाको रिक्त उपाध्यक्ष पदका लागि प्रमुख दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुले एक चरण घरदैलो गर्नसमेत भ्याइसकेका छन् । यो उपनिर्वाचनमा यी प्रमुख तीन दलका उम्मेदवारबीच त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । तुलनात्मक रुपमा यो पटक एमालेलाई जित निकाल्न परिस्थिति केही अनुकूल देखिन्छ ।

त्रिपक्षिय प्रतिस्पर्धा

अघिल्लो निर्वाचनको समानुपातिक मत हेर्दा एमाले अगाडि देखिन्छ । २०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा यो गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच कसिलो गठबन्धन हुँदा एमाले एक्लै प्रतिस्पर्धामा थियो । फलस्वरुप अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भए ।

मंसिर १६ गते उपाध्यक्षका लागि हुने उपनिर्वाचनमा प्रमुख दलहरु एक्लाएक्लै प्रतिस्पर्धामा छन् । जसको फाइदा एमालेले लिन सक्छ । गत स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच कसिलो गठबन्धन हुँदा अध्यक्ष उम्मेवारबीचको मतान्तर एक हजार बराबरको थियो भने उपाध्यक्ष उम्मेदवारको मतान्तर १३ सय हाराहारी थियो । गठबन्धन नहुँदा यो मत कांग्रेस र माओवादीको आफ्नो उम्मेदवारलाई बाँडिदा आफ्नो उम्मेदवाको जित निकाल्न सहज हुने एमालेको आँकलन छ । एमालेको प्रारम्भिक मत सर्भेक्षण अनुसार एक हजार बढी मतान्तरका साथ पार्टी उम्मेदवारले जित्नसक्ने सम्भावना छ ।

स्वतन्त्र निर्वाचन

गाउँपालिकाको वडा नम्बर १ र २ का मतदान केन्द्रहरु संवेदनशील मानिछ । यहाँको निर्वाचनको निष्पक्षतामा एमालेले प्रश्न उठाउँदै आएको छ । जुँगमा यसअघिको निर्वाचनमा अप्रिय घट्नाहरुसमेत भएका थिए । २०७४ सालको निर्वाचनका क्रममा एक युवकको ज्यानसमेत गएको थियो ।

संघीय सांसद गंगा कार्की विश्व, पूर्वराज्यमन्त्री देवी खड्का, बागमती प्रदेशका पूर्वमन्त्री एवं माओवादी जिल्ला इन्चार्ज विशाल खड्का र गाउँपालिका अध्यक्ष विस्वास कार्की यसै भेगका स्थानीयसमेत हुन् । यसअघिका चुनावमा ती स्थानहरुमा माओवादीले फर्जी मत हाल्ने गरेको आरोप लाग्ने गरेको छ । ती मतदान केन्द्रहरुमा आफ्ना मतदाताहरुले स्वतन्त्र रुपमा मत हाल्न नपाएको एमाले नेताहरुको दाबी छ ।

उपनिर्वाचन हुँदै गर्दा सत्तामा कांग्रेस र एमाले छन् । उनीहरुले माओवादीबाट हुनसक्ने सम्भावित वलजफ्ती र फर्जी मत रोक्न मतदान कडा सुरक्षा व्यवस्थाबीच गराउन सक्छन् । एमालेका स्थानीय नेताहरु शान्तिपूर्ण र स्वतन्त्र मतदान हुँदा ती मतदान केन्द्रहरुबाट आफ्ना उम्मेदवारलाई सम्मानजनक मत प्राप्त हुने बताउँछन् । जुन जितको लागि पर्याप्त हुनसक्छ ।

स्थानीय सरकारप्रति असन्तुष्टि

कांग्रेसबाट निर्वाचित उपाध्यक्ष श्यामसुन्दर तामाङको निधनसँगै गौरीशंकरको स्थानीय सरकार माओवादीको एकलौटी जस्तै छ । कतिपय मतदाताहरु निर्वाचनमा गरिएका प्रतिवद्धता अनुसार काम नभएको भन्दै असन्तुष्ट देखिन्छन् । मतदाताको अपेक्षा सम्बोधन गर्न नसक्दा स्थानीय सरकारप्रति मतदाता तहमा माओवादी भित्रै पनि असन्तुष्टि रहेको बताइन्छ । गौरीशंकरमा विकासे योजनाहरुमा माओवादी भित्रका पनि टाठाबाठाहरुको हालीमुहाली रहेको, पारिवारिक राजनीति हाबी रहेको, अनियमितता र बेथिति बढेको, निर्वाचनमा गरिएका प्रतिबद्धता अनुसार काम नभएको जस्ता आरोप लाग्ने गरेको छ । एमालेले त्यस असन्तुष्टिको मत आफूतर्फ तान्ने रणनीति बनाउन सक्छ ।

स्थानीय सरकारमा अमुक दल विशेषको एकलौटी रोक्न उपाध्यक्षमा अर्को पार्टीका उम्मेदवार निर्वाचित गराउनुपर्ने मतपनि मतदातामा छ ।

उपयुक्त उम्मेदवार छनोट

एमालेले भूगोल, उमेर समूह र योग्यताका आधारमा उम्मेदवार छनोट गरेको बताएको छ । तुलनात्मक रुपमा अन्यभन्दा आफ्नो उम्मेदवार योग्य र उपयुक्त रहेको एमालेको दाबी छ । एमालेले अर्थशास्त्र अध्ययन गरेकी, उद्यमसँग जोडिएकी ३४ वर्षकी उमा शेर्पालाई उपाध्यक्षको उम्मेदवार बनाएको हो ।

जिल्ला सचिव सोयम बहादुर खड्काले युवा, उद्यमी, पढेलेखेको बहुआयामिक उम्मेदवार एमालेले अघि सारेको बताए । ‘एमालेले गौरीशंकरका लागि सबैभन्दा उपयुक्त उम्मेदवार अघि सारेको छ, युवा, पढेलेखेको, उद्यमी सबै हिसाबले योग्य उम्मेदवारलाई जिताउने मतदाताका लागि अवसर पनि हो’ उनले भने । राजनीतिमा युवाले अवसर पाउनुपर्ने नयाँ पुस्तामा बढ्दै गएको डिमाण्ड पनि एमालेले सम्बोधनको प्रयास गरेको नेताहरुको भनाई छ ।

रणनीतिक तयारी

सांगठानिक रुपमा बलियो मानिएको एमालेले यो उपनिर्वाचनमा आफ्नो उम्मेदवार जिताउन केही रणनीतिक तयारी गरेको बुझिएको छ । एमाले स्रोतका अनुसार उच्च मनोबलका साथ युवा दस्ता परिचालन गर्नेदेखि प्रतिस्पर्धी दलका मतदाता तान्नेसम्मको योजना बनेको छ । काठमाडौंमा रहेका मतदाता र गाउँका प्रत्येक मतदाता कहाँ पुगेर प्रचार अभियानलाई प्रभावकारी बनाउने रणनीति छ । जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरले पार्टीको उम्मेदवार जिताउन सबै रणनीतिक बिकल्प प्रयोग गरिने बताए ।

‘गाउँपालिकामा एमालेले पाएको समानुपातिक मत हेर्दा एमाले सबैभन्दा ठूलो दल हो, त्यसले नै एमाले उम्मेदवार विजयी हुने कुराको पुष्टि गर्छ,’ उनले भने, ‘एमालेको चुस्तदुरुस्त बलियो संगठन, प्रतिवद्ध मतदाता छँदैछन्, त्यो बाहेक चुनाव जित्न अरु सबै बिकल्प प्रयोग गरिन्छ ।’ धेरै मास केन्द्रीत गरेर तडकभडक देखाउनेभन्दा मतदाताको मनसम्म पुग्ने रणनीतिक योजना प्रयोग गरिने एमाले नेताहरुले दाबी गरेका छन् ।

गौरीशंकरमा १२ स्थानमा २१ वटा मतदान केन्द्रहरु रहनेछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो गाउँपालिकामा कुल मतदाता संख्या १५ हजार ७ सय १८ रहेको छ ।