१६ असार २०८३, मंगलबार

बंगलादेश : सत्तामा पुगेको १०० दिनपछि युनुसद्वारा ‘धैर्य’ को आह्वान

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका, ३ मंसिर । बंगलादेशका अन्तरिम नेता मुहम्मद युनुसले विद्यार्थी नेतृत्वको क्रान्तिपछि सत्तामा पुगेको एक सय दिनको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै बहुप्रतीक्षित चुनावको तयारीका लागि देशको ‘धैर्य’ को याचना गरेका छन् ।

विद्यार्थी नेतृत्वको विद्रोहले शेख हसिनाको १५ वर्षको कठोर शासनको अन्त्य गरेको केही दिनपछि अगस्ट ९ मा सरकारको ‘मुख्य सल्लाहकार’ का रूपमा ८४ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता नियुक्त भएका थिए ।

करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्र बंगलादेशमा लोकतान्त्रिक संस्थाहरू पुनःस्थापना गर्ने ‘अत्यन्त कठिन’ चुनौतीलाई सम्बोधन गर्न लघुवित्तकका अग्रणी युनुसले अस्थायी प्रशासनको नेतृत्व गरिरहेका छन् ।

‘केही दिनभित्रै’ निर्वाचन आयोग गठन गर्ने वाचा गर्दै युनुसले चुनावका लागि समयसीमा दिन नसक्ने र यो निर्वाचन र संवैधानिक सुधारमा निर्भर रहेको बताए । ‘म प्रतिज्ञा गर्छु कि आवश्यक सुधारहरू पूरा भएपछि हामी बहुप्रतिक्षित चुनाव गर्नेछौँ’, उनले प्रसारणमा भने, ‘म तपाईँलाई त्यसबेलासम्म धैर्य राख्न अनुरोध गर्दछु । दशकौँसम्म चल्ने निर्वाचन प्रणाली निर्माण गर्ने हाम्रो लक्ष्य छ । यसका लागि हामीलाई केही समय चाहिन्छ ।’

उनले आफ्नो प्रशासनले हसिनालाई हटाउनका लागि विरोध प्रदर्शनमाथि कारबाही गर्ने दोषीहरूलाई न्यायको सामना गर्न सुनिश्चित गर्नमा पनि ध्यान केन्द्रित गरेको र आफूले अन्तर्राष्ट्रिय फौजदारी अदालतका प्रमुख अभियोजक करिम खानसँग कुरा गरेको बताए ।

बंगलादेशले ७७ वर्षीया हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनलाई अन्तिम पटक भीडले उनको दरबारमा आक्रमण गर्दा हेलिकप्टरबाट भागेर छिमेकी भारत पुगेको देखिएको थियो ।

हसिनालाई ‘नरसंहार, हत्या र मानवता विरुद्धको अपराध’ को आरोपको सामना गर्न सोमबार ढाकाको अदालतमा उपस्थित हुन बोलाइएको छ तर उनी भारतमा निर्वासनमा छिन् ।

हिरासतमा रहेका उनको पूर्व सरकारका केही मन्त्रीहरू समान आरोपको सामना गर्न अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

‘हामीले जुलाई–अगस्ट विद्रोहको समयमा जबरजस्ती बेपत्ता, हत्या र सामूहिक हत्याका लागि जिम्मेवारहरूलाई मुद्दा चलाउन पहल गरिसकेका छौँ’, युनुसले भने ।

क्राइसिस ग्रुपका विश्लेषक थोमस किनले युनुसले सामना गरिरहेको चुनौतीलाई ‘विशाल’ भन्दै उनलाई सत्तामा धकेल्ने ‘नाजुक गठबन्धनमा दरारहरू देखा परेका छन्’ भनी चेतावनी दिएका छन् ।

‘अहिलेलाई युनुस र उहाँका सहयोगीहरूको व्यापक समर्थन छ तर जनअपेक्षाहरू दोधारे छन्’, थिङ्क ट्याङ्कले बिहीबार एक प्रतिवेदनमा भनेको छ, ‘यदि अन्तरिम प्रशासन सुधार गर्नमा चुक्यो भने परिणाम थोरै प्रगतिसहित चाँडै चुनाव हुने सम्भावना छस सबैभन्दा खराब अवस्थामा, सेनाले सत्ता हातमा लिन सक्छ ।’ एएफपी