२९ जेष्ठ २०८३, शुक्रबार

जलवायु जोखिमको प्रभावबाट जोगिन पर्वतीय र सामुद्रिक देश मिलेर अघि बढ्नुपर्छ : राष्ट्रपति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आव्हान गरेका छन् ।

अजरबैजानको बाकु सहरमा यही सोमबारबाट शुरु भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचनामहासन्धिपक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) अन्तर्गत नेपालले आज आयोजना गरेको ‘माउण्टेन इन पेरिल, एडे«सिङ लस एण्ड डयामेज इन द हिमालय’ (‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’) शीर्षकको उच्चस्तरीय राउण्ड टेबल बैठकलाई सम्बोधन गर्दै उनले सो आव्हान गरेका हुन् ।

‘पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्न सक्ने र सामुद्रिक किनार माथि उठ्न सक्ने भएकोले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न म हार्दिक आव्हान गर्दछु’, राष्ट्रपति पौडेलले भने ।
उनले मुख्य गरी कार्वन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रको लागि बढी सहयोग गर्नुपर्ने बताए । ‘बढी भन्दा बढी जलवायु वित्तको व्यस्थापन गर्न २९ औं जलवायु सम्मेलन सफलहुने मेरो विश्वास छ’, उनले भने ।
जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको र यसको सामाना गर्न हामी सबैको साझा बुझाई र साझा प्रयास बनाउनुपर्ने भएकोले यस कार्यक्रमको आयोजना गरिएको उनको भनाइ थियो ।

‘जलवायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रलाई एकै ठाउमा राखेर छलफल गर्दा समस्याको वारेमा बुझ्न र समाधन गर्न पनि सहज हुने हाम्रो विश्वास हो’, राष्ट्रपति पौडेलले भने । सबैलाई आ–आफ्नो समस्या ठुलो लाग्नु स्वभाविकै हो, तर पछिल्लो दिनमा नेपालले भोगेको जलवायु समस्याको चुनौति निकै हृदयविदारक रहेको राष्ट्रपति पौडेलले बताए ।

‘तीन महिना अगाडि विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामे गाउँलाई बगाएर लग्यो, जबकी त्यस क्षेत्रमा मानवीय गतिविधि शून्य नै थियो’, उनले भने । त्यस्तै, विगत ३ महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र ५०० भन्दा बढी मानिसले ज्यान गुमाउन पुगेको र खर्व भन्दा बढीको हानी नोक्सानी भएको जानकारी दिए ।
यस प्रकारको हानीनोक्सानी भर्खरै स्पेनमा भएको बाढी र डुवान तथा गत जुलाईमा क्यारिवियन क्षेत्रमा आएको आँधीबेहरी हेर्दा पनि हुने उनको धारणा थियो ।