
काठमाडौं, २८ कात्तिक । भारतको केरलाको वायनाड लोकसभा सिटमा आज उपनिर्वाचन हुँदैछ ।
कंग्रेस नेता राहुल गान्धीले यो सिट छोडेका थिए । राहुल वायनाडसँगै रायबरेली सिटबाट पनि सांसद निर्वाचित भएका थिए । त्यसपछि उनले रायबरेली सिट आफूसँग राख्ने निर्णय गरेका थिए । अहिले उनकी बहिनी प्रियंका गान्धी वाड्रा यस सिटबाट उम्मेदवार बनेकी छन् ।
भाजपाले नव्य हरिदास र वाम गठबन्धनले सत्यन मोकेरीलाई उम्मेदवार बनाएको छ ।
वायनाड लामो समयदेखि कंग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चा (यूडीएफ)को गढ रहेको छ ।
कंग्रेस महासचिव प्रियंका गान्धी वाड्राको सक्रिय संसदीय राजनीतिमा प्रवेश गर्ने सपना पूरा हुन्छ कि हुँदैन ? वायनाडका मतदाताहरूले आज उपचुनावमा निर्णय गर्नेछन् ।
राहुल गान्धीले वायनाड सिट छोडेपछि यहाँ हुन लागेको उपचुनावमा करिब १४ लाख मतदाताले १६ उम्मेदवारको भाग्यको फैसला गर्नेछन् ।
यसैबीच, केरलाको वायनाड लोकसभा निर्वाचन क्षेत्रको उपचुनावका लागि मतदान सुरु भएको छ । यहाँ कंग्रेस उम्मेदवार प्रियंका गान्धी मुख्यतया वाम गठबन्धनका सत्यन मोकेरी र भाजपाका नव्य हरिदाससँग प्रतिस्पर्धा गर्दै छिन्।
प्रियंकाले पहिलो पटक संसदीय चुनाव लडेकी हुन् । वायनाड सिटलाई कंग्रेसको गढ मानिन्छ ।
सन् २०१९ मा कंग्रेस नेता राहुल गान्धी वायनाडबाटै संसद पुगेका थिए । २०२४ मा राहुलले वायनाड र रायबरेली दुवै जितेका थिए । यसपछि उनले वायनाडबाट राजीनामा दिएका थिए ।








प्रतिक्रिया