
काठमाडौं, २७ कात्तिक । नेपाल टेलिकमले आफ्नो कार्यालयको प्राङ्गण बाहिर धर्ना दिइरहेका व्यक्तिहरुसँग हाल कुनै सम्बन्ध नरहेको जनाएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले विगतमा भएको सम्झौता सकिएकाले धर्ना गर्नेसँग टेलिकमको कुनै सरोकार नरहेको जनाएको हो ।
टेलिकमले विगतमा सेवा विस्तार र मर्मतलगायतका काममा विभिन्न कम्पनीहरुको सेवा लिएकोमा सम्झौता अवधि सकिएपछि अनावश्यक धर्ना दिएर टेलिकमबारे भ्रम फैलाएको उल्लेख गरेको छ ।
गत कात्तिक १२ गते देखि केही व्यक्तिहरुले धर्ना दिइरहेको र आमसर्वसाधारण तथा आमसञ्चार माध्यममासमेत यस बारेमा केही भ्रम पर्न गएको टेलिकमले जनाएको छ ।
‘नेपाल टेलिकमले कम्पनीको सेवा विस्तार, मर्मत सम्भार, सुरक्षा, सरसफाई लगायतका सेवाहरु आवश्यकता बमोजिम बोलपत्र प्रकृयाबाट निश्चित समय तथा कार्य तोकी आउटसोर्सिङको माध्यमबाट निजी सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम/कानुन बमोजिम सम्झौता गरी आवश्यक सेवा लिने गरेको छ । सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ ।’ टेलिकमका प्रवक्ता हरि ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कम्पनीअन्तर्गत दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहल, काठमाडौंको सरसफाईको सेवा केही समय पहिले विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई हाल प्रतिस्पर्धाका आधारमा नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको छ । यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्राङ्गण बाहिर विभिन्न माग राखेर धर्ना दिई कम्पनीको कार्यसम्पादनमा असहजता सिर्जना गर्नुका साथै नयाँ सेवाप्रदायक कम्पनीका जनशक्तिहरुलाई कम्पनीको कार्यालयमा सरसफाईसम्बन्धी कार्य गर्न अवरोध सिर्जनासमेत गरेको अवस्था छ । हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भइसकेको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहेको व्यहोरा कम्पनी स्पष्ट पार्दछ ।’








प्रतिक्रिया