
-अन्जनी कुमार अधिकारी, उदयपुर, २६ कात्तिक । आसन्न मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उदयपुरका प्रमुख राजनीतिक दलले उम्मेदवार टुंगो लगाएका छन् ।
स्थानीय तहको रिक्त रहेको जिल्लाको सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ मा हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि उम्म्दवारहरुको टुंगो लगाएको दलका नेताहरुले जानकारी दिएका छन् ।
उपनिर्वाचनमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले स्वस्थ प्रतिस्पर्धा गर्ने जनाएका छन् ।
त्रियुगा नगरपालिका वडा नम्बर १२ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष चडाराज काफ्ले र बेलका नगरपालिका-९ मा कांग्रेसबाटै निर्वाचित पदम खड्का सवारी दुर्घटना परी निधन भएपछि रिक्त रहेको स्थानमा मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले बेलका नगरपालिका वडा नं. ९ मा भरत घिमिरेलाई र त्रियुगा नगरपालिका वडा नं. १२ मा नविन राईलाई अगाडि बढाउने भएको छ । माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका-१२ मा अघिल्लो निर्वाचनमा एकीकृत समाजवादी र माओवादी गठबन्धन हुँदा तेस्रो मत पाएर पराजित भएका राईलाई नै उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको हो । यता माओवादीले बेलका नगरपालिका ९ मा विद्यार्थी राजनीतिमा सक्रिय भरत घिमिरेलाई उम्मेदवार बनाउने टुंगो लगाएको माओवादी केन्द्रका जिल्ला संयोजक विनोद कटुवाल दिवसले बताए ।
यसैगरी, नेपाली कांग्रेसले बेलका नगरपालिकामा नवराज बस्नेत (नविन) लाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ भने त्रियुगा नगरपालिका १२ मा मृतक वडा अध्यक्षको परिवारका सदस्य संजिव काफ्लेलाई उम्मेदवार बनाउने तय गरेको हो । नगरपालिका १२ मा आंकक्षी मध्ये हालका कार्यवाहक अध्यक्ष अनिता थापाले जिल्ला नेतृत्वलाई यसअघिनै आफू ईच्छुक नरहेको भनेपछि काफ्लेले नै टिकट पाएको नेपाली कांग्रेस स्रोतले बताएको छ । यद्यपि पार्टीको जिल्ला तहको बैठकबाट काफ्लेको उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती खगेन्द्र राईले बताए ।
नेकपा (एमाले)बाट बेलका नगरपालिका-९ मा मोहन खड्कालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको छ । खड्का स्वर्गीय वडा अध्यक्षका भाई हुन् । भने त्रियुगा नगरपालिका-१२ मा लक्ष्मीनारायण चौधरीले एमालेबाट वडा अध्यक्षको टिकट पाएका छन् ।
उपनिर्वाचनका लागि उदयपुरका प्रमुख राजनीतिक दलले सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएका हुन् । अन्य दलहरुमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बेलका नगरपालिका वडा नं. ९ का लागि तेजमान विश्वकर्मालाई अघि सारेको रास्वपा उदयपुरका संयोजक चित्र कार्कीले जानकारी दिए । उनका अनुसार त्रियुगा नगरपालिका-१२ भने उम्मेदवारको टुंगो लागेको छैन् ।
यता एकीकृत समाजवादी पार्टी, राप्रपालगायतका दलले भने अहिलेसम्म उम्मेदवारको तय गर्न सकेका छैनन् ।
निर्वाचन आयोगले त्रियुगा-१२ र बेलका-९ मा हुने निर्वाचनको अन्तिम मतदाता नामवली र संख्या सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ । पछिल्लो तथ्यांक अनुसार त्रियुगा-१२ मा ३ हजार ७ सय ४२ र बेलका-९ मा ३ हजार ९३ मतदाता रहेका छन् ।








प्रतिक्रिया