१९ असार २०८३, शुक्रबार

सात वर्षदेखि एकअर्कालाई भाइटीका लगाउँदै दाजुभाइ

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १८ कात्तिक । भाइटीकामा दिदी बहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ ।

आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदी बहिनीसँग भाइटीका थाप्छन् । तर यहाँको व्यास नगरपालिका-१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले विगत सात वर्षदेखि एकअर्कालाई भाइटीका लगाएर तिहार मनाउँदै आएका छन् । आफ्नै दिदीबहिनी नभएपछि सात वर्षदेखि यसैगरी भाइटीका मनाउँदै आएको मदनले बताए ।

मदन र सुमन दुई दाजुभाइ मात्रै हुन् । ‘आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौँ । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो । हामी टिका थाप्न कुरिरहेका थियौँ । नआएपछि मन खल्लो भयो । त्यसपछि हामीले एकअर्कालाइ टीका लगाउने सोच बनाएर सुरु गर्‍यौँ । त्यसपछि निरन्तर त्यसरी मनाउँदै आइरहेका छौं,’ उनले भने ।

मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन । सुरुका वर्ष उनीहरू आफैँलाई असहज महसुस भयो । दाजुभाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौं’ भन्नेहरू भेटिए । तर, उनीहरूले सुरु गरेको भाइटीकालाई निरन्तरता दिन छाडेनन् ।

दिदीबहिनी नभएपनि दाजुभाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने भाइ सुमनको भनाइ छ । ‘दाजुभाइले भाइटीका गर्दा सम्बन्ध सुमधुर बन्छ । हामी सदैव यसैलाई निरन्तरता दिनेछौँं,’ उनले भने ।