२५ जेष्ठ २०८३, सोमबार

सरकार जनताप्रति जवाफदेही छ, सतर्कतापूर्वक अघि बढिरहेको छ : विष्णु रिमाल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले वर्तमान सरकारले जनताप्रति जवाफदेही भएर काम गरिरहेको र कुनै पनि विषयमा फस्न नहुने गरी सतर्कतापूर्वक अघि बढिरहेको बताएका छन् ।

‘अहिले सडकमा कुनै आन्दोलन नभएको र सरकारप्रति आक्रोश पोख्नुपर्ने कुनै कारण नभएको अवस्थामा पनि विपक्षी दलहरूले सरकार १०० दिन पनि नचल्ने, दशैंपछि जाने, तिहारपछि जाने र अब छठपछि जाने जस्ता भ्रामक प्रचार गरिरहेका छन्- एउटा टेलिभिजन अन्तर्वार्तामा उनले भने ।

नेता रिमालले सरकार आफ्नो काममा केन्द्रीत रहेको र विपक्षी दलहरूले बिनाकारण सरकारको विरोध गरिरहेको टिप्पणी गरे । उनले विपक्षी दलहरूले जनमानसमा गलत भाष्य निर्माण गर्न खोजेपछि सत्तामा रहेका नेकपा (एमाले), नेपाली कांग्रेसलगायतका दलहरूले सँगै बसेर अभिव्यक्ति दिने र वक्तव्य निकाल्ने काम गरेको स्पष्ट पारे । शीर्ष नेताहरूबीच भएको हरेक बैठक र छलफलका कुराहरू सार्वजनिक गर्दा समाजमा पारदर्शिता कायम हुने उपमहासचिव रिमालले बताए ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले विपक्षी दलहरूसँग रचनात्मक संवाद र सहकार्यको आह्वान गरेका छन् । उनले राजनीतिक स्थिरता र विकासका लागि सबै दलहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।