२५ जेष्ठ २०८३, सोमबार

१० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यन्वयन हुँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालमा गैरआवासीय नेपालीले साधरण सेयरमार्फत (आईपियो)बाटै लगानी गर्न सक्नेगरी १० अर्बको एनआरएनए डेभलपमेन्ट फण्ड कार्यन्वयन हुने अन्तिम अवस्थामा पुगेको बताएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको एनआरएन दिवस र वार्षिक साधारणसभाको नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण सत्रमा सम्बोधन गर्दै अध्यक्ष केसीले विदेशमा बस्ने नेपालीले वैधानिक लगानी कसरी गर्न सकिन्छ भन्ने खोजीमा एनआरएनए फण्ड स्थापना भएको बताए ।

अध्यक्ष डा. केसीले नेपाल धितोपत्र बोर्डले निर्देशिका जारी गरेसँगै लगानी भित्राउन बाटो खुल्ने बताए । ‘विदेशबाट नेपालीले लुकेरै लगानी गर्नुपर्ने अवस्था हुँदा फण्डको परिकल्पना गरिएको हो,’ अध्यक्ष केसीले भने,‘पछिल्लो ६ महिनामा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकको सहजिकरणमा केही दिनमै कार्यन्वयनमा आउने अवस्था छ ।’

सरकारको प्राथमिकता नीतिगत सुधारः मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको प्राथमिकता नीतिगत सुधार गरी गैरआवासीय नेपालीले लगानी भित्राउनको लागि विभिन्न ऐन संशोधन गरिएको बताए ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको एनआरएन दिवस र वार्षिक साधारणसभाको नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण सत्रमा सम्बोधन गर्दै उनले नेपालमा लगानीका प्राथमिकता बारम्बार स्पष्ट पारेको बताउँदै लगानीको ढोका खुल्ला रहेको उल्लेख गरे ।

‘नेपालमा जलविद्युत, सूचना प्रविधि, उत्पादन मुलक उद्योग लगायतका क्षेत्र अवसर रहेको छ,’ उनले भने, ‘अहिले सरकारले एनआरएनएलाई जति प्राथमिकता दिएको पछि नदिनसक्छ । अहिले नै आउनु पर्छ ।’ नेपालमा उत्पादन मुलक उद्योग सञ्चालन गरेर छिमेकी मुलुकमा निर्यात गर्न सक्ने बताए । उद्योग मन्त्रालयले नेपाली वस्तु विदेशी बजारमा पहुँच पुर्‍याउन निर्यात सम्मेलन गर्ने जानकारी दिए ।

यसैगरी, एनआरएनए ग्लोबल कन्क्लेभमा सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष महेश बरालले नेपालको पुँजी बजारमा गैरआवासीय लगानी भित्राउने तयारी गरेको बताए । १० अर्बको फण्ड सञ्चालन मोडालिटी सफल हुँदा गैरआवासीय संघसँगै नेपाल सरकारको लागि पाठ हुने बताए ।

‘१० अर्बको फण्ड २०२२ बाट तिव्र गतिमा अघि बढेको थियो,’ अध्यक्ष बरालले भने, ‘सबै सरकारी निकायको सुझाव समेटेर निर्देशिका नेपाल राष्ट्र बैंकमा सहमतिका लागि पठाइएको छ ।’

नेपाल राष्ट्र बैंकले सहमति दिएको एक हप्ताभित्रै निर्देशिका जारी गर्न सक्ने बढाउँदै छठ लगत्तै कार्यन्वयनमा आउने बरालले बताए । उनले ५ अर्ब संस्थापक लगानीकर्ताबाट उठाए ५ अर्ब गैरआवासीय सर्वसाधरण उठाउँदा सफलता हासिल गर्न सकिने बताए ।

धितोपत्र बोर्डबाट निर्देशिका जारी भएसँगै प्राथमिक सेयर निष्कासन सुरु गरिने : एनआरएनए डेभलपमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत डा. भट्टराई

गैरआवासीय फण्ड स्थापना सन् २००५ मा स-साना लगानी भित्राउने कन्सेप्ट सुरु भएको थियो । २०१९ मा मात्रै सरकारसँग सम्झौता भयो । २०२१ मा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भयो ।

एनआरएनए डेभलपमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत डा. अनलराज भट्टराईले धितोपत्र बोर्डबाट निर्देशिका जारी भएसँगै प्राथमिक सेयर निष्कासन सुरु गरिने बताए ।

‘धितोपत्र बोर्डले निर्देशिका जारी गरेपछि ५-६ महिनामा गैरआवासीय नेपालीका लागि आईपिओ जारी गर्न सक्छौँ,’ सिइओ भट्टराईले भने, ‘कोषको फाण्ड पूर्वधार क्षेत्रलाई प्राथमिकता दिई लगानी गर्ने उद्देश्य छ ।’

यसैगरी, राष्ट्र बैंककी कार्यवाहक गर्भनर निलम ढुंगानाले गैरआवासीय नेपालीले विदेशी ऋण र लगानी भित्राउनका लागि सहजिकरण गरेको बताइन् । नेपालमा कर्पोरेट संस्कृतिसँगै प्रयाप्त लगानी बढाउनका लागि गैरआवासीय नेपालीले गर्न सक्ने ढुंगानाले बताइन् ।

यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले नेपालमा वैदेशिक लगानी बढाउन सम्मेलन गरेपनि अपेक्षाकृत रुपमा आउन नसकेको बताए । गैरआवासीय नेपालीले नेपालमै लगानी गर्नमा ध्यान दिनुपर्ने उनले बताए ।