
काठमाडौं, ११ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीले सरकारी हस्तक्षेपले गैरआवासीय अभियानमा समस्या आएको बताएका छन् । संघको ग्लोबल कन्केभ तथा साधरणसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले बारम्बार सरकारी हस्तक्षेपले सिर्जना भएको समस्या छलफलबाटै समाधान गर्न सकिने बताएका हुन् ।
अध्यक्ष केसीले विश्वभर नेपालको राम्रो छवि बनाउने काम गरिरहेको बताए । विश्वका ११५ बढी देशमा पुगेर नेपाललाई चिनाउने काम गरेको बताउँदै नेपालमा प्राकृतिक प्रकोप पर्दा गैरआवासीय नेपाली सधै सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
‘विदेशमा बस्ने नेपालीले वार्षिक १५ खर्ब बढी रेमिट्यान्स पठाएका छन् । ठूलो लगानीसमेत भित्रिएको छ,’ अध्यक्ष केसीले भने, ‘नेपालमा लगानी गर्न विदेशी भएर गर्नुपर्ने अवस्था छ । कानुन संसोधन गरेर सीमा नतोकी लगानी भित्राउन दिनुपर्छ ।’
अध्यक्ष केसीले सरकारले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिएपनि त्यसको कुनै काम नभएको बताए । ‘सरकारले नागरिकता त दिएको छ तर कुनैपनि सरकारी काममा प्रयोगमा आउँदैनन,’ उनले भने, ‘सरकारले स्पष्ट कानुन बनाएर त्यसको उपयोग बढाउनु पर्छ ।’
अध्यक्ष केसीले सरकारको हस्तक्षेपकै कारण गत अधिवेशन विवादमा परेकोसमेत बताए । ‘सिआईबी लगाएर धरपडक गरियो । तर अनुसन्धान रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएन,’ उनले भने, ‘अध्ययन रिपोर्टमा के देखियो सार्वजनिक गर्नुपर्यो ।’








प्रतिक्रिया