
धनकुटा, १० कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले आफ्ना कमी कमजोरीलाई महसुस गरी सुधार गरेर अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
एमाले धनकुटाको स्थानीय विकास विभागले आज जिल्ला सदरमुकाममा आयोजना गरेको निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्ववीच जिल्ला स्तरिय प्रशिक्षात्मक तथा मध्यावधि समिक्षा गोष्ठीलाई संवोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् ।

जनप्रतिनिधिहरुले आफ्नो कामको आत्मसमिक्षा गरी नराम्रा कामलाई रोकेर राम्रा कामलाई मात्र अघि बढाउन मुख्यमन्त्री कार्कीको सुझाव छ । पालिका प्रमुख र उपप्रमुखको तालमेल नमिल्दा धेरै पालिकाका कामहरु लथालिङ्ग भएको उदाहरण दिँदै मुख्यमन्त्री कार्कीले जनप्रतिनिधिहरुबीच समन्वयको खाँचो औंल्याए । उनले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको हित विपरित र पार्टीलाई बदनाम गर्ने छुट नरहेको स्पष्ट पारे ।
एमालेका जनप्रतिनिधि र नेता कार्यकर्तालाई जनताको मन जित्नेगरी काम गर्न आग्रह गर्दै उनले एमालेले २०८४ मा अझै राम्रो नतिजा ल्याउने दाबी गरे ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री राजेन्द्र राईले जनप्रतिनिधिले जनताको गरिबी घटाउने, आम्दानी बढाउने र सुशासनमा ध्यान दिएर काम गर्नुपर्ने धारणा राखे । जनप्रतिनिधिहरुलाई सधै जनताको सुखदुखमा साथ दिन उनले आग्रह गरे ।
कार्यक्रममा एमालेबाट निर्वाचित २०० भन्दा बढी जनप्रतिनिधिहरु भेला भएर मध्यावधि समीक्षा गरी भावी योजना एवम् रणनीति तय गरिएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।










प्रतिक्रिया