३ श्रावण २०८३, आइतबार

एमाले काभ्रेको रणनीतिः युवा केन्द्रित संगठन विस्तारदेखि विपद् व्यवस्थापनसम्म

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, १० कात्तिक । नेकपा (एमाले) काभ्रेको तेस्रो पूर्ण बैठक शनिबार बनेपामा सम्पन्न भएको छ ।

जिल्ला कमिटी अध्यक्ष राजन भूर्तेलको अध्यक्षतामा भएको बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा पार्टी पोलिटब्युरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटा, केन्द्रीय सदस्य नविना लामा, रुकमणी बराईली र बागमती प्रदेश कमिटीका सचिवालय सदस्य हिरामान लामालगायतका नेताहरु सहभागी थिए ।

बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल र समीक्षा गरिएको छ । बैठकमा पार्टीले तय गरेको योजनाहरूको कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्दै विस्तृत समीक्षा गर्नुका साथै योजनाहरूलाई थप प्रभावकारी बनाउन विभिन्न सुझावहरू प्रस्तुत गरिएको थियो । योजना कार्यान्वयनमा देखिएका चुनौतीहरू र तिनको समाधानका लागि थप पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

जिल्लाका नेता तथा स्थानीय तहका प्रतिनिधिहरूले हालै आएको बाढी, पहिरोलगायतका प्राकृतिक विपद्का कारण भएका क्षतिको स्थलगत रिपोर्ट प्रस्तुत गरेका थिए ।

यसैगरी, बैठकले विपद् प्रभावित क्षेत्रका पीडितहरूलाई तत्काल राहत पुर्‍याउन र पुनर्स्थापनाका लागि सरकारसँग समन्वय गरी आवश्यक पहल गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष भूर्तेलले जानकारी दिए ।

बैठकले संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहसम्म सदस्यता विस्तार गर्ने र विशेषगरी युवाहरूलाई पार्टीमा आकर्षित गर्ने रणनीति बनाएको छ । यसका लागि जनतासँग प्रत्यक्ष संवाद, सेवामूलक कार्यक्रम र सामाजिक अभियानहरू सञ्चालन गर्ने योजना तय गरिएको छ ।

यसैगरी, केन्द्रीय नेतृत्वसँग निरन्तर समन्वय गर्दै जिल्ला र स्थानीय तहमा पार्टीका नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्ला स्तरीय कार्यसमितिहरूलाई स्पष्ट जिम्मेवारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिएको एमाले काभ्रेले जनाएको छ । बैठकका सहभागीहरूले आ-आफ्नो क्षेत्रमा पार्टीको उपस्थिति र प्रभावकारिता बढाउन विभिन्न सुझाव र प्रस्तावहरू राख्दै पारित प्रस्तावहरूको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।