८ असार २०८३, सोमबार

भ्रष्टाचार शून्यमा झार्न पारदर्शी व्यवहार देखाऔँ : मुख्यमन्त्री आचार्य

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, १० कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शून्यमा झार्न नेतृत्व तहमा रहेकाहरुले पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका छन् ।

भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ को बारेमा शनिबार भैरहवामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले वडा तहमा हुने भ्रष्टाचारका उजुरीलाईसमेत हेर्नेगरी प्रमुख जिल्ला अधिकारीलाई अधिकार सम्पन्न बनाइनुपर्नेसमेत बताए । ‘अख्तियारको प्रतिनिधिको रुपमा सिडियो हुन्थ्यो । त्यो व्यवस्था कायम गर्न जरुरी छ । किन कि तल वडा वडामा हुने अनियमिताहरुलाई पनि हेर्न जरुरी छ’ उनले भने, ‘सुशासनको क्षेत्रमा हामी पारदर्शी बनौँ । हामी सबै पारदर्शी बन्यौँ भने मलाई लाग्छ यो भ्रष्टाचार आफै न्यूनिकरण भएर जान्छ । तपाईंले नखाने, मैले नखाने, अर्काले नखाने हो भने यसै सकिन्छ त । त्यसो भएकाले यो सवालमा हामी सबै गम्भीर बनौँ ।’

लुम्बिनी प्रदेशमा सुशासन कायम गर्न प्रदेश सरकारले रणनीतिक योजना बनाउने कामलाई अन्तिम चरणमा पुर्‍याएकोसमेत उनले जानकारी दिए । भ्रष्टाचारलाई शून्यमा झार्नेगरी सुशासन कायम गर्न प्रदेश सरकारले पाँच वर्षे रणनीतिक योजना निर्माणको कामलाई अन्तिम चरणमा पुराएको बताए । ‘सुशासन कायम नभइराख्दा भ्रष्टाचार बढेर जान्छ । तपाईं जति सुशासन कायम गर्न सक्नुहुन्छ त्यो प्यारामिटर डाउन भएर घट्दै जाने हो’ उनले भने, ‘भ्रष्टाचार अन्त्यको कुरा गरेर मात्रै होइन, त्यसमा महत्वपूर्ण ध्यान दिन जरुरी छ । प्रत्यक्ष र अप्रत्यक्ष खालका हुने खर्चहरुलाई कटौती गरेर अगाडि बढिरहेका छौँ ।’

मुख्यमन्त्री आचार्यले भ्रष्टाचार शून्यमा झार्न राजनैतिक नेतृत्व, कर्मचारी तह लगायत जिम्मेवारीमा रहेकाहरुमा नैतिकता र इमानदारी व्यवहारको आवश्यकता रहेकोसमेत धारणा राखे । जिम्मेवारीमा रहेका सबैमा नैतिक आचारचरण हुने हो भने भ्रष्टाचार शुन्यमा झार्न सकिने उनले बताए । ‘सबै तह र तप्काको नेतृत्व हरेक हिसावले सच्चिन जरुरी छ । राजनीतिक दलका नेता कार्यकर्ता भन्नुस, जनप्रतिनिधि भन्नुस, कर्मचारी साथिहरुको कुरा गर्नुस, विभिन्न संघ संस्थामा काम गर्ने अभियन्ताको कुरा गर्नुस, नागरिक समाजको कुरा गर्नुस, सामान्य नागरिकको कुरा गर्नुस । हरेक क्षेत्रमा इमानदारीता हराउँदै गइरहेको छ । यो कुरालाई आत्मसाथ गर्नुपर्छ’ उनले भने,‘हामी सबै सच्चिन र सुध्रिन जरुरी छ । मैले यो आवश्यकता देखेको छु ।’

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारको आयोजनामा भैरहवामा भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण बारे छलफल गरिएको हो । भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी कार्यान्वयन गर्ने सन्दर्भमा भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीनि तथा कार्ययोजना निर्माण गर्न थालिएको छ ।