
कपिलवस्तु, १० कात्तिक । कपिलवस्तुमा नेकपा माओवादीबाट विभाजित महावीर समूहका जयप्रकाश यादवको हत्या भएको छ ।
चन्दाका विवादका कारण भएको हत्यामा संलग्न रहेको आरोपमा सोही समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मृतक यादव महावीर समूहको विजयनगर गाउँपालिकाको इन्चार्ज थिए र पार्टीमा ‘परिवर्तन’ उपनामले चिनिन्थे । उनको शव गत कात्तिक ४ गते राति विजयनगर गाउँपालिका-२ स्थित भैँसीघाट खोला किनारमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको थियो ।
प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका-५ का ४७ वर्षीय रमेश श्रेष्ठ र कपिलवस्तुको वाणगंगा नगरपालिका-२ की ४६ वर्षीया मनकला थारूलाई पक्राउ गरेको छ ।
श्रेष्ठ महावीर समूहको जिल्ला सेक्रेटरी र थारू महिला विभाग प्रमुख हुन् । थारू पार्टीमा ‘गीता’ उपनामले चिनिन्छिन्।
यादवले कपिलवस्तुका विभिन्न क्षेत्रमा अवैध चन्दा संकलन गर्ने गरेको र श्रेष्ठमाथि आरोप लगाउने गरेका कारण यादवको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया