
सल्यान, ८ कात्तिक । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सल्लाहकार समितिका सदस्यसहित १० जना नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
बिहीबार नेकपा (एमाले) सल्यानले सदरमुकाम खलंगामा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा समाजवादीको केन्द्रीय सल्लाहकार समितिका सदस्य टोपबहादुर चन्दसहित ८ जना नेता कार्यकर्ता एमालेमा समाहित भएका हुन् ।

समाजवादीका जिल्ला कमिटी सदस्यहरू रेमन्त डीसी र छवि केसी, छत्रेश्वरी गाउँपालिका कमिटी सचिव केन्द्रराज बुढाथोकी, सदस्य लक्ष्मी सुनार र गिर्दल डाँगी तथा समाजवादीकै हेमबाबु सुनार र रेशम बहादुर चन्द एमालेमा समाहित भएका हुन् ।
यसैगरी, राप्रपाबाट चुडामणि विक र निर्मला विक पनि एमालेमा प्रवेश गरेको एमाले सल्यानका उपसचिव सन्सील्ता वलि डिसीले जानकारी दिइन् ।
एमाले सल्यानले विभिन्न दलबाट एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै भविष्यमा पार्टीलाई सशक्त बनाउने बताएको छ ।
जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पार्टीलाई राजनीति मात्र नभएर विकास र समृद्धिको मार्गमा अग्रसर गराउनुपर्ने बताएका छन् ।

उनले भने, ‘राजनीति कमाउने धन्दा होइन, यसको मुख्य ध्येय विकास र समृद्धि हासिल गर्नु हो ।’ मुख्यमन्त्री कँडेलले सल्यानलाई विकास र समृद्धिको नमूना जिल्ला बनाउनका लागि सबै पक्षलाई मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले युवाहरूलाई उद्यमशीलतामा लाग्न र जिल्लाको आर्थिक उन्नतिका लागि थप प्रयास गर्न प्रेरित गरे । ‘आजको प्रमुख कार्य भनेकै समृद्धि र विकास हो ।’ उनले भने ।

एमाले सल्यानका अध्यक्ष भीमबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोविन्दकुमार पुनले पनि विधि विधान अनुसार एकताबद्ध भएर पार्टीलाइ अगाडि बढाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरू तथा जिल्ला पार्टीका पदाधिकारीहरुले पनि सम्बोधन गरेका थिए । जिल्ला कमिटी उपाध्यक्ष ओज बहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव पुष्पा बोहराले गरेकी थिइन् ।
कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका पदाधिकारी, वडा कमिटी अध्यक्ष र सचिव, जनसंगठनका केन्द्र, प्रदेश, र जिल्ला प्रमुखहरू तथा पार्टीका शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।
कार्यक्रमले एमालेको संगठनात्मक सुदृढीकरणमा थप बल पुगेको छ भने पार्टीमा नयाँ जोश र समर्पण थपिएको एमाले सल्यानले जनाएको छ । कार्यक्रमले राजनीतिक माहोलमा उत्साह थपेको तथा प्रदेश र जिल्लाको विकासका लागि नयाँ रणनीति तयार गरेको पनि एमालेले जनाएको छ ।













प्रतिक्रिया