
पोखरा, ८ कात्तिक । सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताहरूले पीडितलाई भड्काउने काम गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै समितिले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बचाउमा पार्टीका कार्यकर्ताहरूले टोल-टोलमा पुगेर शान्तिपूर्ण वातावरण खलबल्याउने र पीडितलाई भड्काउने काम गरिरहेको बताएको हो ।
‘मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचाउ अभियानमा उक्त पार्टीका नेता र कार्यकर्ताले पोखराको शान्त वातावरण नै बिथोल्ने गरी पीडित बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोलटोल र घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने गरेको कामप्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

समितिले सहकारी पीडितले रास्वपा सरकारमा रहँदा पटक-पटक गुहार गर्दासमेत कुनै सहयोग नपाएको तर अहिले पार्टी सभापति पक्राउ परेर अनुसन्धानको दायरामा आएपछि आन्दोलनमा उत्रिएकोप्रति पनि आपत्ति जनाएको छ । समितिले रास्वपाको यस्तो प्रदर्शनको कुनै औचित्य नरहेकोसमेत बताएको छ ।
सहकारी पीडितका अनुसार पोखरामा रास्वपाको आन्दोलनमा जनसहभागिता न्यून देखिएपछि रास्वपाका नेता कार्यकर्ताहरू घरदैलोमा पुगेर यहाँका स्थानीय बासिन्दालाई भड्काउने प्रयास गरिरहेका छन् ।
रास्वपाको पोखरा केन्द्रीत आन्दोलनमा मुख्यतः विभिन्न जिल्लाबाट आएका पार्टीका कार्यकर्ताहरूको मात्र उपस्थिति देखिएको छ ।








प्रतिक्रिया