१७ असार २०८३, बुधबार

नागरिकलाई आशा जगाएर सुशासन कायम गर्नु अहिलको प्रमुख आवश्यकताः मुख्यमन्त्री कँडेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, ८ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनतालाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।

बुधबार सल्यानमा आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री कँडेलले लामोसमयको सघर्षपछि राजनीतिक परिर्वतन भएको र जनताले नयाँ किसिमले कार्यसम्पादन खोजिरहेकोले नागरिकलाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका हुन् ।

‘गणतान्त्रिक व्यवस्था ल्याउन हामी सबै मिलेर संघर्ष गरेका हौँ ।’ मुख्यमन्त्री कँडेलले भने, ‘व्यवस्थाका लागि संघर्ष गर्दा जनता समक्ष गरिएका बाचाहरु पनि बिर्सनु हुँदैन ।’

दलका नेता र जनप्रतिनिधि मध्ये कोही कसैले गलत गर्‍यो भन्दैमा व्यक्तिको गल्तीलाई सिंगो व्यवस्थामामाथि नै दोष लगाएर जनतामा वितृष्णा फैलाउने काम भइरहेको भन्दै मुख्यमन्त्री कँडेलले व्यवस्थामाथि लान्छाना लगाउनुभन्दा आफ्ना काम र कर्तव्यमा जिम्मेवार बन्नुपर्ने धारणा राखे । व्यक्ति विशेष खुशी बनाउने नाममा अनेकन विकृतिहरु भित्रिरहेको बताउँदै मुख्यमन्त्री कँडेलले व्यक्ति खुशी बनाउनुभन्दा नीति र निर्णय राम्रो बनाउन सके सबैले लाभ लिन सक्ने परिस्थिति निर्माण हुनेमा जोड दिए ।

यसअघि जिल्लास्थित स्थानीय तहका प्रमुख एवम् सरकारी कार्यालयका प्रमुखहरुसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले संविधानले तीनै तहका सरकारलाई आ-आफना सीमा क्षेत्र तोकेको बताउँदै तीनै तहका सरकारबीच समन्वयात्मक ढंगले अघि बढनुपर्ने बताए ।

‘हामी सबैका आ-आफना छुट्टाछुट्टै जिम्मेवारी र दायित्व छन् ।’ मुख्यमन्त्री कँडेलले भने, ‘ति सबै दायित्व र जिम्मेवारी जनताका लागि हुन् भन्ने विषयलाई हामीले हेक्का राख्नुपर्दछ ।’ आफ्नो बजेटले धान्न सक्ने अर्थतन्त्रको अवस्था हेरेर योजना बनाउन स्थानीय तह सुझाव दिँदै मुख्यमन्त्री कँडेलले गच्छे अनुसारको सरकार चलाउने लयमा लागियो भने मात्र जनतामा निराशा पैदा नहुने उनको भनाई थियो ।