३१ जेष्ठ २०८३, आइतबार

म्याद थपका लागि रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ कात्तिक । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडियाका पूर्वसञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराधको मुद्दामा थप अनुसन्धानका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।

प्रहरी र सरकारी वकिल कार्यालयले लामिछानेको बयान कार्य सम्पन्न नभएको जनाउँदै थप हिरासत म्यादको माग गर्ने तयारी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले लामिछानेलाई आज म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइने बताए ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार अनुसन्धान प्रक्रियामा प्रमाण संकलन र आवश्यक कागजात प्राप्तिलाई प्राथमिकता दिइएकोले बयान प्रक्रिया दोस्रो प्राथमिकतामा परेको छ । उनले लामिछानेले बयान प्रक्रियामा सहयोग गरिरहेको र यो उनको दायित्व तथा कर्तव्य पनि रहेको बताइन् ।

गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका लामिछानेसँगै सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई पनि आजै म्याद थपका लागि अदालत लगिँदैछ ।