७ असार २०८३, आइतबार

ललितपुरमा १५ देशका वैज्ञानिकको सम्मेलन हुँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ६ कात्तिक । ललितपुरमा १५ देशका वैज्ञानिकको तीन दिवसीय सम्मेलन हुने भएको छ । नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा यही कात्तिक ९ गतेदेखि ११ गतेसम्म ललितपुरस्थित होटेल हिमालयमा सम्मेलन हुने सोमबार यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

सम्मेलनमा वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल गर्ने सम्मेलनका सहसंयोजक डा. देवलप्रसाद भट्टराईले जानकारी गराए । ‘सम्मेलनले वैज्ञानिकलाई भेला पारेर आआफ्ना उपलब्धि र अनुभव साटासाट गर्न लागिएको हो, यो सम्मेलनमा चीन, भारत, मलेसिया, इण्डोनेसिया, जापान, अमेरिकालगायत १५ देशका वैज्ञानिक आउँछन् । चीनबाट मात्रै १६ जना वैज्ञानिकहरु सहभागी हुनेछन्’, उनले भने ।

वातावरण र ऊर्जा क्षेत्रको विषयमा केन्द्रित रहेर छलफल हुने सम्मेलनमा विश्वका अन्य मुलकले शिक्षा, स्वास्थ्य, उद्योगलगायत क्षेत्रमा अपनाइरहेका वैज्ञानिक पद्धतिका बारेमा छलफल हुने उनले जानकारी गराए । इन्जिनियरिङ र विज्ञानका क्षेत्रमा सन् २००८ पछि हरेक वर्ष यस्ता कार्यक्रम भइरहेको जानकारी गराउँदै भट्टराईले स्वास्थ्यका क्षेत्रमा क्यान्सर र मधुमेहको उपचारका विषयमा अध्ययन अनुसन्धानबाट पत्ता लागेका कुरा आदानप्रदान हुने जानकारी गराए ।

एक सय ३६ जनाको उपस्थिति रहने सम्मेलनमा ४० जना विदेशी सहभागी रहने जनाइएको छ । सम्मेलनमा अध्ययन अनुसन्धानलाई कसरी दैनिक जीवनमा लागू गर्ने भन्ने विषयमामा छलफल हुने जनाइएको छ ।