
काठमाडौं, ४ कात्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ सरकार गठन भएपछि गत वर्षको तुलनामा राजश्वमा उल्लेख्य वृद्धि र अर्थतन्त्रमा सुधार भएको बताएका छन् ।
आइतबार फेसबुकमा लेख्दै महासचिव पोखरेलले एमाले र नेपाली कांग्रेस सम्मिलित नयाँ सरकार गठन भएपछि गत वर्षको तुलनामा राजस्व र पूँजीगत खर्चमा उल्लेख्य वृद्धि भएको बताएका हुन् ।
पोखरेलले केही सञ्चार माध्यमले आन्तरिक ऋणमा वृद्धि भएको भनी अर्थतन्त्रमा भएको सुधारलाई ओझेलमा पार्ने प्रयास गरेको उल्लेख गरेका छन् ।
‘नेकपा(एमाले)को नेतृत्वमा नेकपा(एमाले) र नेपाली कांग्रेस सम्मिलित नयाँ सरकार गठन भएपछि गत वर्षको तुलनामा राजश्वमा उल्लेख्य वृद्धि भएको छ । पूँजीगत खर्चमा त गतवर्षको तुलनामा असाधारण वृद्धि भएको छ । तर केही सञ्चार माध्यममा आन्तरिक ऋणमा वृद्धि भनेर अर्थतन्त्रमा भएको सुधारलाई ओझेलमा पार्ने चेष्टा भएको छ । बैंकमा तरलता वृद्धि भएर संकट उत्पन्न हुने अवस्थामा राष्ट्र बैंकले तरलता खिच्नुपर्ने अवस्थामा आन्तरिक ऋण परिचालन गर्नु अर्थतन्त्रलाई चलायमान बनाउने बाटो हो भन्ने कुरा बुझ्न सक्नु पर्दछ ।’ महासचिव पोखरेलले भनेका छन्, ‘त्यसमाथि गएको वर्ष भएको कामको भुक्तानी समेत राज्यले नदिएको अवस्थामा बक्यौता भुक्तानी दिने कार्य राज्यको अनिवार्य दायित्वको विषय हो । त्यसका लागि राज्यले अतिरिक्त स्रोतको व्यवस्था गर्नु पर्दथ्यो । तसर्थ अर्थतन्त्रमा भइरहेको सुधारलाई उपेक्षा गरेर आलोचनाका लागि आलोचना गर्नु उचित कुरा होइन । बरु मुलुकलाई आर्थिक संकटबाट छिटो मुक्त गर्न थप सुधारका लागि दबाब देऔँ र प्रोत्साहन गरौँ ।’
महासचिव पोखरेलले गत वर्ष भएका कामहरूको बक्यौता भुक्तानी दिने कार्य राज्यको अनिवार्य दायित्व भएको र यसका लागि अतिरिक्त स्रोतको व्यवस्था गर्नुपर्ने बताए । अर्थतन्त्रमा भइरहेको सुधारलाई उपेक्षा गरेर केवल आलोचनाका लागि आलोचना गर्नु उचित नभएको महासचिव पोखरेलको भनाइ छ ।








प्रतिक्रिया