
काठमाडौं, ३ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का नेता वंशिधर मिश्रले पार्टीलाई नेकपा (एमाले)सँग एकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शनिबार पत्रकारसँगको कुराकानीमा उनले यो विचार व्यक्त गरेका हुन् ।
मिश्रले भने, ‘पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न सकेको छैन् । त्यसैले, हामीले एमालेसँग एकीकरण गर्नुपर्छ ।’ उनले पार्टी फुटको कारणहरूलाई समाधान गर्दै एकीकरण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।
मिश्रले नयाँ पार्टी गठन गर्दा पार्टीमा कुनै पनि त्रुटि, कमी कमजोरी र असन्तुष्टिहरु नहोस् भन्ने आफूहरुको अपेक्षा रहेको भए पनि त्यस्तो हुन नसकेको बताए । उनले पार्टीको दशौं महाधिवेशनको जनादेश विपरीत मनोनीत केन्द्रीय सदस्यहरूले पदाधिकारी र पोलिटब्यूरो सदस्यहरूको चयन गरेको भन्दै यसप्रति आफूहरु असन्तुष्टि रहेको खुलाए ।
मिश्रले भने, ‘पार्टी विधान र महाधिवेशनको जनादेश विपरीत पदाधिकारी र पोलिटब्यूरो चयन गरिनु त्रुटिपूर्ण थियो ।’ उनले पार्टीभित्र दुई प्रमुख धार रहेकाले पार्टी संकटमा रहेको बताए ।
उनका अनुसार पार्टीमा एउटा पक्षले पार्टीको औचित्य समाप्त भएको र नयाँ पार्टी बनाउनुपर्ने बताइरहेको छ भने अर्को पक्षले सुधार गरेर यही पार्टीलाई निरन्तरता दिनुपर्ने धारणा राखेको छ ।
मिश्रका अनुसार यदि पार्टीलाई एमालेसँग एकीकरण गराउन नसकिए भने शीर्ष नेताहरू बाहेकको समूह एमालेमा प्रवेश गर्न निश्चित छ ।
मिश्रले पार्टी एकिकरणको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश आए सजिलो हुने पनि बताए । एकीकृत समाजवादी बन्ने बेला ल्याइएको अध्यादेश आवश्यक देख्नेले अहिले राजनैतिक ध्रुविकरणको लागि ल्याइने अध्यादेश पनि औचित्यपूर्ण हुने उनले बताए । राजनीतिक दल सम्बन्धी अध्यादेशले अलमलमा परेका धेरै नेता कार्यकर्तालाई सहज बाटो र निर्णय लिन सजिलो हुने नेता मिश्रको भनाई छ ।








प्रतिक्रिया