
काठमाडौं, ३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध आज काठमाडौं र पोखरामा प्रदर्शन गर्ने भएको छ ।
रास्वपाले बिहान ११ बजे पोखराको चिप्लेढुंगा र दिउँसो १ बजे काठमाडौंको माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ विरोध प्रर्दशन गर्ने जनाएको छ ।
शुक्रबार साँझ रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लगेको थियो । सडकमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुराइएका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
जिल्ला अदालत कास्कीले उनीसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउनेछ । आज शनिबार भएकाले लामिछानेलाई भोलि आइतबारमात्रै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।









प्रतिक्रिया