
काठमाडौं, ३ कात्तिक । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टोलीले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीको जिम्मा लगाएको छ ।
शुक्रबार साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर सडकमार्ग हुँदै पोखरा ल्याएको सीआईबीले शनिबार बिहानका करिब ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाएको जनाएको छ ।
रातभरको पार्टी कार्यकर्ताको अवरोध र नाराबाजी छल्दै लामिछानेलाई सडकमार्ग हुँदै पोखरा पुर्याइएको हो ।
सीआईबीले सुरुमा रविलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याइएको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
लामिछानेलाई पोखरामा पुर्याएर कास्की प्रहरीको हिरासतमा राखेपछि रास्वपा उपाध्यक्षद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालसँगै रवि पत्नी निकिता पौडेलले भेट गरेका थिए ।
लामिछानेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सूर्यदर्शनलगायतका सहकारीको रकम ठगीको आरोप छ ।
सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले लामिछानेले सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न प्रहरीसमक्ष सिफारिस गरेको थियो ।









प्रतिक्रिया