
काठमाडौं, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछाने वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुरोध गरेको थियो । त्यसपछि सीआईबीबाट प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटी नेतृत्वको गएको टोलीले उनलाई पक्राउ गरेको हो ।
पार्टी कार्यालय वनस्थलीमा पक्राउ गर्न पुगेको प्रहरीसँग मिडियासँग छोटो प्रतिक्रिया दिने अनुमति पाएका लामिछानेले संक्षिप्त सम्बोधन गरेर प्रहरीसमक्ष आत्मसर्मपण गरे ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको थियो । समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो । प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो ।
ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीको रकम अपचलन गरिएको प्रतिवेदनमा खुलाइएको छ ।
जीबीले सहकारीको रकम अपचलन गरेर गोर्खा मिडिया नेटवर्कमा लगानी गरेकोमा लामिछाने र पूर्वडीआईजी छविलाल जोशीकोसमेत संलग्नता देखिएपछि समितिले उनीहरू दुवै जनालाई कारबाही सिफारिस गरेको थियो । जोशीलाई प्रहरीले गत असोज ६ गते नै पक्राउ गरिसकेको छ । जोशी कास्की प्रहरीको थुनामा छन् ।
संयोगवश लामिछानेलाई पहिलोपटक पक्राउ गर्न पनि बोगटी नै खटिएका थिए । लामिछाने पहिलोपटक २०७६ साउनमा पक्राउ परेका थिए । त्यतिबेला पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा उनी पक्राउ परेका थिए । त्यो बेला बोगटी काठमाडौं प्रहरी परिसरमा डीएसपीका रूपमा कार्यरत थिए । बोगटीकै टोलीले त्यतिबेला लामिछानेलाई पक्राउ गरेर चितवन प्रहरीलाई बुझाएको थियो ।
अर्को संयोग, त्यतिबेला पक्राउ परेका लामिछानेलाई राति नै गाडीमार्फत चितवन लगिएको थियो । शालिकरामले चितवनको एक होटेलमा आत्महत्या गरेका थिए ।
यसपटक बोगटी सीआईबीको एसपीको रूपमा कार्यरत हुँदा लामिछानेलाई दोस्रोपटक पक्राउ गर्न वनस्थली पुगेका थिए ।








प्रतिक्रिया