
काठमाडौं, २ कात्तिक । गृहमन्त्री रमेश लेखकले गत असोज १० देखि १३ गतेसम्म भएको भारी वर्षाले निम्त्याएको बाढीपहिरो प्रभावितको उद्धार सकिएर राहतको काम भइरहेको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको १४ औं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरो प्रभावित क्षेत्रमा तीव्रताका साथ राहत वितरणको काम भइरहेको बताएका हुन् ।
बाढीपहिरो प्रभावित २० जिल्लाका ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै त्यस पालिकामा तत्काल राहतको प्याकेज घोषणा गरिएको उनले बताए ।
उनकाअनुसार बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्यकारी समितिको बैठकबाट अति क्षति भएको पालिकालाई एक करोड, मध्ये क्षति भएका पालिकालाई ७५ लाख र कम क्षति भएको पालिकालाई ५० लाख दिने निर्णय भएको छ ।
असोज दोस्रो साताअघि भएको विपद्ले निम्त्याएको घटनामा पुनर्स्थापना र पुनर्निर्माणको काम भइरहेको उनको भनाइ छ । ‘एक वर्षयताका विपद्का घटनाको सम्बोधन हुने गरि निर्णय गर्न आवश्यक छ । पुनर्स्थापना र पुनर्निर्माणमा जाजरकोट भूकम्पदेखिकै विषयलाई समेट्नुपर्छ,’ गृहमन्त्री लेखकले बताए ।
विपद्मा सीमित स्रोत साधनका बाबजुद नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राम्रो काम गरेको भन्दै गृहमन्त्री लेखकले थप स्रोत साधनको आवश्यकता औँल्याए । साथै, उनले विपद् प्राधिकरणलाई सातै प्रदेशमा स्थापना गर्नुपर्नेमा उनले जोड दिए । बैठकमा असोज दोस्रो साता आएको विपत्तिमा नेतृत्वदायी भूमिका खेलेको भन्दै भौतिक पूर्वाधारमन्त्री, स्वास्थ्यमन्त्री, खानेपानीमन्त्री लगायतले गृहमन्त्री लेखकको प्रसंशा गरेका थिए ।
गृहमन्त्री लेखकको समन्वयकारी भूमिकाले अवरुद्ध सडक र खानेपानी संचालनमा ल्याउनका तथा घाइतेको निःशुल्क उपचार गराउन सहज भएको मन्त्रीहरुको भनाइ थियो ।









प्रतिक्रिया