
काठमाडौं, २ कात्तिक । नेकपा (एमाले)का नेता विष्णु रिजालले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न पूर्जी जारी भएको विषयमा प्रतिक्रिया दिनुभएको छ । उहाँले यो घटनालाई न खुसीको न दुःखको विषय भएको बताउनुभएको छ ।
नेता रिजालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘सरकार मरेको होइन, सक्रिय भएको छ । रवि लीमिछानेलाई पक्राउ गर्न पूर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ ।’
कास्की जिल्ला अदालतबाट आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि लामिछानेले फेसबुकमा आक्रोश पोख्दै सरकार मरेर आफूलाई जुठो परेको टिप्पणी लेख्नुभएको थियो ।
नेता रिजालले यसलाई राजनीतिक प्रतिशोधको रूपमा नहेर्न लामिछानेलाई आग्रह गर्नुभएको छ । उहाँले गृहमन्त्री भइसक्नुभएका कृष्णबहादुर महरा र बालकृष्ण खाँणको उदाहरण दिँदै भन्नुभएको छ, ‘गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन । रविजी पक्राउ पर्दा चाहिँ के आकाश खस्छ ? कानुनलाई सघाउनूस्’
नेता रिजालले लामिछानेलाई कानुनी प्रक्रियामा सहयोग गर्न र ६५ करोड रुपैयाँको विषयमा जवाफ दिन आग्रह गर्नुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘६५ करोड बारे जवाफ दिनूस्, अदालतले न्याय दिइहाल्छ नि !’









प्रतिक्रिया