३१ जेष्ठ २०८३, आइतबार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा : उदयपुरमा १३ जनाको उद्धार

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-अन्जनी कुमार अधिकारी, उदयपुर, १ कात्तिक । गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना लिएर झापाबाट सुरु गरिएको मेची-महाकाली सडक आश्रित मानव उद्धार राष्ट्रिय अभियान उदयपुरको चौदण्डीगढी नगरपालिका आइपुगेको छ । उद्धार टोलीले आज (बिहीबार) यहाँ १३ जना सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरेको छ ।

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा हालसम्म भेटिएका ४१ जना सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरिएको फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले जानकारी दिनुभयो ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल उद्देश्यसहित सञ्चालित मेची महाकाली यात्रा ३२ दिनसम्म यात्रा सञ्चालन हुनेछ ।

बिहीबार उद्धार टोलीले उदयपुरको बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकाका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरूको उद्धार तथा सेवा गरेको थियो । बुधबार उदयपुर आइपुगेको टोलीले बिहीबारबाट उद्धार सुरु गरेको हो ।

टोलीले बिहीबार बेलका नगरपालिकाबाट ७ जना र चौदण्डीगढी नगरपालिकाबाट ६ जना गरी १३ जनाको उद्धार गरेको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले जानकारी दिनुभयो ।

उद्धार गरिएकाहरूको मानवसेवा आश्रम विराटनगर सेवा केन्द्रमा गृहप्रवेश गराइने बताइएको छ । साथै, भोलि शुक्रबार पनि उदयपुर जिल्लाकै त्रियुगा नगरपालिकालगायत वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवहरूको उद्धार गरिने मानव सेवा आश्रमले जनाएको छ ।

अभियानका अभियान्ता तथा आनी छोइङ डोल्मा फाउन्डेसन अध्यक्ष डोल्माले नेपालको संविधानले दिएको हक र अधिकार अनुसारनै सडक मानवहरूको उद्धार गरी आगामी २०८२ साल सम्ममा नेपाललाई सडक मानव मुक्त राष्ट्र बनाउने अभियानसहित मेची महाकाली सडक आश्रित मानव उद्धार राष्ट्रिय अभियान सुरु गरिएको बताउनु भयो । उहाँले अभियानलाई सफल बनाउन तीनै तहका सरकारले सहयोग गर्नुपर्ने र अहिलेसम्म आफुहरुलाई सहयोग रहेकोसमेत बताउनु भयो ।