२६ असार २०८३, शुक्रबार

यस्तो छ बेलायत उड्नुअघि हर्क साम्पाङको डिजिटल डायरी

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बेलायत प्रस्थान गर्नुभएको छ । धरान समाज यूकेको निमन्त्रणामा मेयर साम्पाङ श्रीमती निर्मला लिम्बू र छोराका साथ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

मेयर साम्पाङ सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय रहने जनप्रतिनिधिमा पर्नुहुन्छ । उहाँ आफ्ना गतिविधिहरु फेसबुकमा साझा (सेयर) गर्दै पनि आउनुभएको छ । त्यसक्रममा उहाँ तीन दिन अघि बेलायत जान धरानबाट काठमाडौं आइपुग्दा पनि आफ्नो प्रत्येक गतिविधिलाई कैद गर्दै फेसबुकमा आफ्ना समर्थकहरू माझ सेयर गर्नुभएको छ ।

काठमाडौं आइपुगेपछि उहाँले पशुपति मन्दिर र स्वयम्भू स्तुपा जस्ता प्रसिद्ध धार्मिक स्थलहरूको भ्रमण गर्नुभयो । हिजो उहाँ कीर्तिपुर पुग्नुभयो, जहाँ उहाँ उमामहेश्वर मन्दिर परिसरमा सरसफाइमासमेत सहभागी हुनुभयो र शहर घुमघाम गर्नुभयो ।

आज बिहानदेखि नै साम्पाङको फेसबुक पेज एक रोमाञ्चक यात्रा वृत्तान्तमा परिणत भएको छ । उहाँले पहिलो पोस्ट बिहान ५:२३ मा गर्नुभयो, जसमा कीर्तिपुरवासीहरूसँगको भेटघाटका तस्वीरहरू समावेश थिए । उहाँले लेख्नुभएको छ, ‘सुन्दर किर्तिपूर ! मिलनसार किर्तिपूरबासी ! संस्कृतिले भरिएको शहर ! घुम्न जाने सबैको रहर !’

त्यसपछि, ५:४२ मा उहाँले उमामहेश्वर मन्दिर दर्शनको भिडियो पोस्ट गर्नुभयो । केही मिनेटमै ५:४८ मा साम्पाङले एक चिन्तनशील स्टाटस लेख्नुभयो, जसमा उहाँले नेपालीहरूको सामु रहेका दुई बाटोहरू – श्रम संस्कृति र विदेश पलायनबारे आफ्नो विचार व्यक्त गर्नुभयो । उहाँले लेख्नुभएको छ, ‘नेपालीको अघिल्तिर दुइटा बाटा छन् ! एउटा माटो छुने संस्कृति अर्थात श्रम संस्कृति तर्फ जान्छ ! अर्को रोजिरोटीको खोजिमा विदेश तिर लाग्छ ! कुन बाटो रोज्ने आफै बिचार गर्नुहोला ! ढुङ्गे मेयर ढुङ्गे मेयर भनेर खिसी गरिनबस्नु !’

करिब एक घण्टापछि साम्पाङले ६ः४५ मा एक फोटो पोस्ट गर्नुभयो । यसको क्याप्सनमा उहाँले लेख्नुभएको छ, ‘अरुलाई पाप चिताउनेको दाहिने भगवान कहिल्यै हुँदैनन् ! यति बुझ्नु “सबैको हीत चिताउने मानिसलाई भगवानले संधैव साथ दिइरहन्छन् !” जय मानव !’

त्यसको एक घण्टापछि साम्पाङले एक भावुक स्टाटस लेख्नुभयो, जसमा उहाँले रातभरि निद्रा नलागेको र जनताको आशालाई पूरा गर्ने कसम खाएको उल्लेख गर्नुभयो । ‘जनताको आँखामा देखिएको त्यो आशाको किरणलाई समेटेर सुनौलो प्रभात ल्याउने कशम खाएको एउटा सानो मान्छे रातभर सुत्न सकेन ! मनमा अनेकन कुराहरु मडाडिएर सुत्न दिएन ! लागियो एयर्पोर्ट तर्फ !’ उहाँले लेख्नुभएको छ ।

एयरपोर्ट पुगेपछि साम्पाङको फेसबुक अपडेटको गति झनै बढ्यो । ८ः५९ मा उहाँले सबैसँग बिदा माग्दै एक फोटो पोस्ट गर्नुभयो, त्यसको केही मिनेटमै लगेज चेकको लाइनमा उभिएको भिडियो शेयर गर्नुभयो ।

९:२४ मा साम्पाङले एक पुरानो तस्वीर पोस्ट गर्नुभयो, जसमा उहाँ हाते माइक बोकेर ढुंगामा बस्नुभएको तस्वीर रहेको छ । यससँगै उहाँले लेख्नुभएको छ, ‘म जहाँ गए पनि एउटा आवाज बनेर जानेछु ! म जहाँ भए पनि एउटा आवाज बनेर बाँच्नेछु ! सुतेकालाई जगाउनु र सही मार्गमा लगाउनु मेरो स्वभाव हो !’

१०:४५ मा साम्पाङले विमानस्थलमा आफ्नी श्रीमती र छोरासँगको तस्वीर पोस्ट गर्नुभयो, जसमा उहाँले लेख्नुभएको छ- उद्देश्य सहितको एउटा अनौठो यात्रा काठ्माण्डु टु दोहा टु लण्डन ! वेटिङ लबी एट टीआईए ११ः३० एएम्, सम मिनेट टू गो बिफोरिङ बोर्डिङ !

जहाज चढ्नु अघि उहाँले दुई पोस्ट गर्नुभयो । एउटा भिडियो बाइट जसमा उहाँले जन्मभूमिलाई मिस गर्ने कुरा बताउनुभयो र अर्को परिवारसँगको तस्वीरमा राख्दै लेख्नुभएको छ, ‘जय यात्रा ! सबैलाई धन्यवाद ! केही दिनको लागि मातृभूमिलाई बाइबाइ !’