
काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार रहेको बताउनुभएको छ ।
६९औं प्रहरी दिवसको अवसरमा बुधबार प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दशैंपछि सरकार परिवर्तन हुने हल्ला निराधार भएको भन्दै अहिलेको गठबन्धनको सरकार पूरै अवधि चल्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता ठूलो योगदान र इतिहास बोकेका दलहरू मिलेर बनेको दुईतिहाइ बहुमतको यो सरकार खरानीको डल्लो नभएको बताउनुभयो । उहाँले देशलाई परिवर्तन गर्ने उद्देश्यले ठूला दलहरू मिलेर सरकार गठन गरेको स्पष्ट पार्नुभयो ।
आफूले एक वर्ष नौ महिना सरकारको नेतृत्व गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । साथै, आगामी आमनिर्वाचन देउवाकै नेतृत्वमा हुने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले वर्तमान संविधान र शासन प्रणालीको रक्षा गर्दै जनताका अधिकारहरूलाई सुदृढ बनाइने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रहरीसम्बन्धी नयाँ कानून छिट्टै पारित गरिने र यसले प्रहरी संगठनमा नवीन युगको सुरुवात गर्ने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया