
काठमाडौं, ३० असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यले समान अधिकार दिन नसकेको कारण अझै असमानता रहेको बताउनुभएको छ ।
बुधबार ‘दनुवार’भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ समारोहमा उहाँले समाजमा रहेको असमानता, विभेद, उत्पीडन हटाउनको लागि संघीय शासन प्रणालीको आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले पनि सबै कुरा हेर्दा विविधता भित्र असमानता, विभेद, उत्पीडनका विषयमा झगडा हुन्छ । राज्यले समान अधिकार दिन नसकेको हुनाले यस्तो भएको हो । यसको व्यवस्थापन गर्नको लागि संघीय शासन प्रणालीको आवश्यकता हुन्छ । यसका लागि विविधताभित्र एकता खोज्नु पर्छ । नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नको लागि सबैलाई थोरै थोरै र बराबर अधिकार दिएर अगाडि बढ्नु पर्छ ।’ आफ्नो प्रतिनिधि माथि जनताको राम्रो नियन्त्रण कायम होस् र लोकतन्त्र राम्रो होस भनेर संघीय प्रणालीमा आएको पनि उहाँको भनाई छ ।
यस्तै, उहाँले समयअनुसार नढल्ने हो भने विकास सम्भव नहुने भन्दै रेडियो नेपाललाई वर्तमान समाजमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनुपर्ने बताउनुभयो । उहाँले सरकार र नीति नियमको स्थिरताको लागि र जनताको समस्या समाधान गर्नको लागि यो सरकार बनेको भन्दै सरकारले आफ्नो काम गर्ने बताउनुभयो ।










प्रतिक्रिया