
बैतडी, ३० असोज । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी अहिले गृह जिल्ला बैतडीमा हुनुहुन्छ । जिल्लामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुभएका मन्त्री भण्डारीले जिल्लाबासीको निराशा हटाउने प्रतिवद्धता गर्नुभएको छ । उहाँले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरु क्रमशः कार्यान्वयन गरिरहेको बताउनुभयो ।
रोजगारी सृजना गर्नका लागि स्थानीय स्रोत साधनको उपयोग बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिकामा आयोजित कार्यक्रहरुमा सहभागी हुनुभएका मन्त्री भण्डारीले बैतडीमा रहेका सम्भावनाहरुलाई उजागर गरी त्यसको व्यवस्थापनमा लागिरहेको बताउनुभयो । जिल्लास्थित विभिन्न खानी, खनिज, जडीबुटी प्रशोधन तथा व्यवस्थापनमा ध्यान केन्द्रीत गरेको उहाँको भनाई छ ।
उहाँले फस्फोराइड खानी, फलाम खानी, सिलेट खानी आदिलाई व्यवस्थित गरी बैतडीको सिलेट राजधानी पुर्याउने प्रतिवद्धता व्यक्त गनुभयो । अहिले यी खानीहरु भएको ठाउँमा सडक पुर्याउनसमेत केही अवरोध सृजना भएको देखिन्छ सबै सरोकारवाला मिलेर समाधान गर्नुपर्ने उहाँको भनाई छ ।
रोजगारीको सम्भावना भएका क्षेत्रमा विकास निर्माण गर्ने वातावरण बनाउन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । मन्त्री भण्डारीले आफ्नो आँखा अगाडिको रोजगारी चिन्न नसक्नु र त्यसको उपयोग गर्न नसक्नु स्वंयमको कमजोरी हुने बताउनुभएको छ । उहाँले सरकारी बजेटमा स्थापीत योजनाहरुको पूर्ण उपयोग नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो सिरानीबाट चिहानसम्म पानी बगेको छ तर सिंचाईको अभावमा खेत बाँझो राखेका छौँ, ठाउँठाउँमा सडक पुगेपनि व्यवस्थित नभएकाले हाम्रा उत्पादनले बजार पाउन मुस्किल छ । सडक सुविधा भएका ठाउँमासमेत कृषि उपजहरु उत्पादन गरी बिक्री गर्ने परिपाटी छैन्, जहाँ जे सम्भावना छ त्यसको उपयोग आफैले गर्नुपर्छ र सरकारी स्तरबाट आवश्यक योजनाको माग गर्नुपर्छ । सडक, सिंचाई, विद्युत, खानेपानी लगायतका पूर्वाधारहरु निर्माण गर्न सरकार लागिपरेको छ ।’ वर्तमान सरकारले व्याक्तिवादी योजनाहरु नबनाउने उहाँको दाबी छ ।
मन्त्री भण्डारीले अल्लोको लोक्ता प्रशोधन स्थानीयस्तरमै गर्नुपर्ने र त्यसको पूर्वाधार खडा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यसका साथै जडीबुटी संकलन, प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गर्ने र लघु उद्यममार्फत रोजगारी सृजना गर्ने बताउनुभयो । सामान्य व्याजदरको स्टार्टप कर्जा कार्यक्रममार्फत रोजगारी श्रृजना भैरहेको उहाँको भनाई छ ।
स्थानीय स्तरमा उपलब्ध स्रोत साधनलाई उपयोग गरी रोजगारी श्रृजना गर्नमा आफूले ध्यान केन्द्रीत गरेको मन्त्री भण्डारीले बताउनुभयो । चालु आर्थिक वर्षमा नपरेका तर अत्यावश्यक योजनाहरु आगामी वर्षमा पर्ने उहाँले बताउनुभयो ।
मन्त्री भण्डारीले हरेक पटक ओरालो लागेको अर्थतन्त्रलाई नेकपा (एमाले) नेतृत्वको सरकारले लयमा फर्काउने गरेकाले वर्तमान समयको आर्थिक संकुचन हटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । वर्तमान सरकारले सबै सरकारी क्षेत्रमा सुशासन कायम गर्ने बताउनुभयो । बैतडीबाट निर्वाचित प्रतिनिधि सभा सांसदसमेत रहनुभएका मन्त्री भण्डारीले बैतडीलाई शीरमा राखेर काम गर्ने बताउनुभएको छ ।








प्रतिक्रिया