८ असार २०८३, सोमबार

अराजकता र गैरजिम्मेवारीले देश बन्दैन : शंकर पोखरेल

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकासका लागि बलिया राजनीतिक दल आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ३ दाङको आयोजनामा पालिका कमिटीका नवनिर्वाचित नेताहरूलाई बधाई तथा प्रशिक्षण दिन तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मुलुक निर्माणको लागि तीनवटा कुरा आवश्यक रहेको बताउनुभयो ।

‘मुलुक निर्माणका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक छ, यी चिज दिन सक्यो भने मात्र मुलुक विकासको गतिमा अघि बढ्न सक्दछ’, पोखरेलले भन्नुभयो ।

आज जो सबैभन्दा बढी गैरजिम्मेवार छ राजनीतिमा उही नै बढी चर्चामा आउने विडम्बनापूर्ण स्थिति भएको उहाँले बताउनुभयो । बैंकबाट ऋण लिएर नतिर्ने, सहकारी ठग्नेहरू आज राजनीतिको चर्चामा रहेका पोखरेलको भनाइ छ । ‘जबसम्म अराजकहरू लोकप्रिय हुन्छन् समाजमा, तबसम्म त्यो समाजले प्रगति गर्न सक्दैन’, महासचिव पोखरेलले भन्नुभयो । सामाजिक सञ्जालमा आज सबै खराब कुरा मात्र देखिने गरेका उहाँले बताउनुभयो । सामाजिक सञ्जाल समाजका अराजकहरूले कब्जा गरेका कारण यो स्थिति आएको उहाँको धारणा छ ।

महासचिव पोखरेलले युरोप, अमेरिकाको सपना देखेर मात्र नहुने बताउँदै देशलाई त्यस्तै बनाउन बलिया राजनीतिक दल आवश्यक रहेको बताउनुभयो । युरोप, अमेरिका बलिया राजनीतिक दलले बनाएका उहाँले स्पष्ट पार्नुभयो ।

प्रचारबाजहरूले देशमा विकास र समृद्धि दिन नसक्ने उहाँले बताउनुभयो । लोकप्रियतावादका आधारमा दृष्टिकोण नभएकाहरू नेता बन्दा देश भड्खालोमा पर्ने पोखरेलले बताउनुभयो । निराशाको बिचमा देशको विकास हनु नसक्ने पोखरेलले बताउनुभयो । विकासको लागि आशा जाग्नै पर्ने र नागरिकमा आशा जगाउनु पर्ने पोखरेलले स्पष्ट पार्नुभयो । ‘कुनै पनि देशको विकास र समृद्धि निराशामा हुनै सक्दैन’, उहाँले भन्नुभयो ।

देशमा केही पनि भएन भन्नेहरूले यो बिचमा भएका विकासका काम हेर्न उहाँले आग्रह गर्नुभयो । भएका कुराको समेत चर्चा गर्न नसक्दा अराजकतावादीहरूका हाबी भएको पोखरेलले बताउनुभयो । ‘हामी भएका कुराको पनि चर्चा गर्न नसक्ने भयौँ’, पोखरेलले भन्नुभयो । मुलुक बनाउनको लागि सकारात्मक कुरा जनताको बिचमा लैजानु पर्नेमा उहाँले जोड दिनुभयो । नकारात्मक कुराले मुलुकलाई उधोगतिमा लैजाने महासचिव पोखरेलको भनाइ छ । कमजोरहरूले शासन गर्दा जनताको अपेक्षा पूरा गर्न नसकिने उहाँले बताउनुभयो । त्यसैले मुलुकमा बलिया राजनीतिक दलले शासन गर्नुपर्छ भनेर एमाले र कांग्रेस मिलेर सरकार बनाएको महासचिव पोखलेले स्पष्ट पार्नुभयो ।

गठबन्धनले नीतिमा सम्झौता गराउने बताउँदै पोखरेलले नीतिमा सम्झौता गरेपछि विकास र समृद्धिको काम अघि नबढ्ने बताउनुभयो । त्यसैले आउने चुनाव कांग्रेस र एमालेले एक्ला एक्लै चुनाव लड्ने घोषणा गरेको महासचिव पोखरेलले बताउनुभयो । आउने निर्वाचनमा एमालेलाई निर्णायक शक्ति बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

महासचिव पोखरेलले अब सानातिना पार्टीबाट देश नबन्ने बताउनुभयो । देश बनाउने हो भने सबैलाई एमाले पार्टीमा आबद्ध हुन पोखरेलले आग्रह गर्नुभयो । पोखरेलले एमालेलाई अब काम नगर्नेहरूको कमिटी होइन, काम गर्नेहरूको कमिटी बनाउनुपर्ने बताउनुभयो । कमिटी ओगटेर बस्ने परिपाटीलाई अब अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एमाले जनताका समस्यासँग जोडिनु पर्ने बताउँदै पोखरेलले एमालेका कमिटीले जनताका समस्यामा केन्द्रित भएर काम गर्नुपर्ने बताउनुभयो । ‘कमिटीको काम जनताको समस्या समाधान गर्न भूमिका खेल्ने हो’, महासचिव पोखरेलले भन्नुभयो ।

पोखरेलले सही नीतिले मात्र काम नगर्ने बताउँदै त्यसको सही ढङ्गले प्रयोग हुनेपर्ने बताउनुभयो । वैचारिक, राजनीतिक कामलाई पार्टी कामको महत्त्वपूर्ण विषय बनाएर अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । राजनीतिमा युवालाई जोड दिनुपर्ने बताउँदै उहाँले युवाको विदेश पलायन देशको लागि चुनौती भएको बताउनुभयो । राजनीतिमा युवा सहभागिता भएन भने देशको विकास पनि ओझेलमा पर्ने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।