
काठमाडौं, २९ असोज । वडादशैं बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थानलगायतका कार्यालयहरु खुलेका छन् । तर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान नै छ ।
मंगलबार बिहान ११ बजे सिंहदरबार छिर्दा मन्त्रालयमा छिटपुट्ट मात्र कर्मचारीहरु भेटिए । सिंहदरबारभित्रका सडकहरुमा न्यून मात्रामा सवारी साधन गुडेको देखिन्थ्यो । मन्त्रीका गाडीहरु हुइँकिए पनि कर्मचारीहरुको उपस्थिति न्यून थियो ।
फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका मन्त्रालयका ढोका खुले पनि सबै मन्त्रालयका शाखा वा महाशाखाका कार्यकक्षमा कर्मचारीको उपस्थिति न्यून देखिन्थ्यो ।
मानिसहरुको आवतजावत भने बाक्लिएको छ । टाढा घर भएका कर्मचारीहरु काठमाडौं आई नपुगेकाले मन्त्रालयहरु सुनसान रहेको कर्मचारीहरुले बताए । तर दशैंमा गाउँ गएकाहरु फर्कन थालेसँगै शहर बजार र सडकमा भने भीडभाड बढेको छ ।
आवतजावतका लागि सडकहरु असहज भएकाले केही असजिलो भएको छ । दशैंको मुखमा प्राकृतिक विपत्तिका कारण धेरै राजमार्ग एवम् सडकहरु पूर्ण रुपले सञ्चालनमा आइसकेका छैनन् ।









प्रतिक्रिया