
धरान, २९ असोज । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुखलाई कार्यवाहकको जिम्मेवारी नदिई वडा अध्यक्षलाई दिनुभएको छ ।
उपप्रमुख अइन्द्रविक्रम बेघालाई कार्यवाहकको जिम्मेवारी नदिई नियम विपरीत वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई दिनुभएको हो ।
उपप्रमुख बेघाले प्रमुख साम्पाङले आफूलाई ‘बाइपास’ गरी वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएकोमा आपत्ति जनाउनुभएको छ । उहाँले प्रमुख साम्पाङले विगतदेखि नै विधि, प्रक्रिया र नियम कानूनको उल्लंघन गरेको र यसपटक पनि त्यसैको निरन्तरता स्वरुप वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको भन्दै पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ ।
उपप्रमुख बेघाले आफ्ना धारणा सार्वजनिक गर्न अपराह्न ४ बजे धरानमा पत्रकार सम्मेलन आयोजना गरेको उहाँका एक सहयोगीले जानकारी दिनुभयो । ‘मेयर साब निरन्तर रुपमा नियम, विधि र पद्धतिविपरीत मुढे पारामा चल्दै आउनुभएको छ’, उहाँले भन्नुभयो, ‘पछिल्लो पटक वडाअध्यक्षलाई कार्यवाहक दिने निर्णय पनि त्यसैको निरन्तरता हो ।’
साम्पाङले आफू बेलायत जाने भएपछि उपप्रमुख बेघालाई बाइपास गरी वडा नम्बर-११ का अध्यक्ष फागुलाई आफ्नो अनुपस्थितिमा कार्यवाहक तोक्नुभएको छ । साम्पाङले असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्नेगरी फागुलाई कार्यवाहकको जिम्मेवारी निर्वाह गर्न पत्र लेखेर दिनुभएको छ ।

उपप्रमुख बेघाले साम्पाङको कार्यशैलीको विरोध गर्नुभएको कारण उहाँहरुबीच राम्रो सम्बन्ध नरहेको बुझिएको छ ।








प्रतिक्रिया