
काठमाडौं, २९ असोज । गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।
६९औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा उहाँले प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
‘गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सुदृढीकरण गरी सेवाको विशिष्टिकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ र उत्कृष्ट प्रावधानहरू पहिचान गरी विधेयकमा समाविष्ट गरिएको छ,’ उहाँले भन्नुभयो, ‘गृह मन्त्रालयले यसलाई छिटो भन्दा छिटो प्रतिनिधि सभा समक्ष पेश गर्ने लक्ष्य राखेको छ । प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरे पश्चात नेपाल प्रहरीको वृहत्तर हित र वर्षौ वर्षदेखिका हाम्रा अपेक्षाहरू पूरा हुने विश्वास मैले राखेको छु ।’

कार्यक्रममा गृहमन्त्री लेखकले कर्तव्य पालनका क्रममा मृत्युवरण गर्नुभएका र घाइते भएका प्रहरी कर्मचारीहरुको योगदानको उच्च मूल्याङ्कन हुने बताउनुभयो । ‘वर्तमान सरकार गठन भएलगत्तै संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई पूर्णता दिइएको छ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता भएका व्यक्तिको छानबिनसम्बन्धी कानुन बनेको छ,’ उहाँले भन्नुभयो, ‘यसले द्धन्द्धको बेलामा मुत्युवरण गर्ने सुरक्षा निकायका व्यक्तिहरुको परिवारलाई पनि पीडित सरह परिपूर्ण दिने व्यवस्था गरिएको छ । द्धन्द्धको बेलामा घाइते तथा अपाङ्ग हुनुभएका सुरक्षा निकायका व्यक्तिलाई पीडित सरह व्यवहार गरिने व्यवस्था गरिएको छ ।’
सुरक्षा निकायको कमी कमजोरीले सरकारले नै आलोचना व्यहोर्नुपर्ने भएकाले थप सतर्कताका साथ काम गर्न गृहमन्त्री लेखकले निर्देशन दिनुभयो । ‘नेपाल प्रहरीसहितका सुरक्षा निकायहरुले परिश्रमका साथ आफ्नो कत्वर्य निर्वाह गरी रहेका छन् । कहिले कही सुरक्षा निकायबाट हुने कमी कमजोरीका कारण नागरिकबाट ठूलो आलोचना हुन्छ र मन्त्री वा सरकारले आलोचना बोक्नुपर्ने अवस्था सिर्जना हुन्छ । तसर्थ थप सचेतना, सतर्कता र व्यवसायिकताका साथ काम गर्न म निर्देशन गर्दछु ,’ उहाँले भन्नुभयो । २०१२ सालमा स्थापना भएको नेपाल प्रहरी अहिले मुलुकको अपरिहार्य र महत्वपूर्ण संस्थाका रूपमा स्थापित भइसकेको उहाँको भनाइ छ ।
‘आम नागरिकको सारथि र जीवनदेखि मरणसम्मको सहयात्री हुन सफल भएको छ । यो महत्वपूर्ण उपलब्धि र आम विश्वासप्रति गौरव बोध गर्दछु । यस अवसरमा नेपाल प्रहरी परिवारलाई हार्दिक बधाई छ,’ उहाँले भन्नुभयो ।
राज्यको नागरिकसँग सम्पर्क सुत्र नै प्रहरी भएको भन्दै नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतिका लागि आफ्नो भूमिका सदैव सहयोगी रहने विश्वास गृहमन्त्री लेखकले दिलाउनुभयो । मुलुकभर महिला तथा बालबालिकामाथि हुने हिंसा, कसुरजन्य कार्य, भेदभाव छुवाछुतलगायतका अपराधिक कार्यमा संलग्नलाई शून्य सहनशीलताको नीति लिएर कानूनको दायरामा ल्याउन गृहमन्त्री लेखकले प्रहरीलाई निर्देशन दिनुभयो ।









प्रतिक्रिया