
चितवन, २८ असोज । चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम जारी छ । रंगशाला निर्माण कार्य दशैंमा पनि राकिएको छैन । हालसम्म रंगशालाको १० प्रतिशत काम सकिएको छ ।
भरतपुर महानगरपालिकाले संघ र प्रदेश सरकारसँग सहकार्य गरेर रंगशालाको कामलाई अघि बढाएको हो । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि वढाएको हो । ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ ।
महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यकाअनुसार प्यारापिटमुनि ढलाई गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ । गत साउनमा बिबिआर जेभीले निर्माणकार्य सुरु गरेको हो ।
विसं २०८३ पुससम्ममा रंगशाला निर्माण सम्पन्न गर्नेगरी ७८ करोड ५१ लाख रुपैयाँमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
रंगशाला निर्माण गर्न चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेका छन् ।
रंगशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । चाडपर्वमासमेत काम नरोकिने प्रमुख दाहालले बताउनुभयो ।
काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्षरुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ ।








प्रतिक्रिया