
काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको दशैंमा परिवारका सदस्यबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम नरहने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले हालैको बाढीपहिरो जस्ता विपद्ले दशैं उल्लासमय हुन नसकेको र दशैंमा सरकार विपद्ले दिएको पीडाबाट जनतालाई मुक्त गर्न केन्द्रित हुनुपर्ने भएकाले टीकाको कार्यक्रम नराखिएको बताउनुभएको हो ।
आज एक भिडिओ सन्देशमार्फत प्रधानमन्त्री ओलीले दशैंको पूर्वसन्ध्यामा आएको भीषण बाढी र पहिरोको कारणले यो वर्षको दशैं उल्लासमय हुन नसकेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनु पर्ने भएकाले पहिलेका वर्षहरूमा जस्तो यसपाली विजया दशमीको टीका उल्लासपूर्ण हुने छैन । परिवारका सदस्यहरुसँग बाहेक यसपटक टीका लगाउने कार्यक्रम राखिएको छैन । सबैलाई बडादशैंको शुभकामना ! जय होस्, मङ्गल होस् ।’
प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘यो वर्षको दशैं उल्लासमय हुन सकेन । दशैंको मुखमा दशैं अघि आएको भीषण बाढी र पहिरोको कारण २ सय भन्दा बढीले ज्यान गुमाएका छन् । कति घाइते हुनुभयो । धेरै जनधनको क्षति भयो । भौतिक पूर्वाधार पुलहरू बाटाहरू ध्वस्त भए । धेरैलाई घरबारविहीन बनायो । परिवारका सदस्यहरू बाढी पहिरोले चुँडेर लग्यो । यसैले हामी विगतजस्तो हामी दशैंमा यो अवसरमा रमाउन सकेको छैनौँ । सरकारको नेतृत्वमा रहेको हैसियतले पुनर्निर्माण र पुनर्स्थापनामा जुट्नुपर्ने, आवागमन सुगम बनाउनुपर्ने उत्तरदायित्वमा लागिरहेको छु ।’
उहाँले अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्न सबै नागरिकहरूलाई आग्रह गर्नुभएको छ । साथै, सरकार भत्किएका घरहरूको पुनर्निर्माण र पीडितहरूलाई राहत तथा पुनर्स्थापनामा केन्द्रित रहेको पनि प्रधानमन्त्री ओलीले भिडिओ सन्देशमा भन्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो गच्छेअनुसार दशैं मनाउन सबैलाई आग्रह गर्नुभएको छ ।








प्रतिक्रिया