
काठमाडौं, २५ असोज । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गरेको नेकपा (एमाले)ले नयाँ भवन निर्माण गर्ने भएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका-१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको बताउनुभयो । तर अब भने स्थायी भवन निर्माणको तयारीमा रहेको उहाँले बताउनुभयो ।
आज शुक्रबार कीर्तिपुर नगरपालिका-२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास हुने जानकारी उपमहासचिव ज्ञवालीले दिनुभयो । उहाँकाअनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पार्टी कार्यालय भवनको शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ ।
एमालेले काठमाडौं कलंकी-तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवन बनाउन लागेको हो ।
२०७२ को भूकम्पका कारण बल्खुबाट विस्थापित एमाले मुख्यालय धुम्बाराही, थापाथली हुँदै हाल ललितपुरको च्यासल पुगेको हो । त्यहाँ पनि बाढी र डुबानले दःख दिएपछि नयाँ विकल्प खोजिएको हो ।








प्रतिक्रिया